एसपी रिपोर्टर
जनकपुरधाम, असोज २१ : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले जनकपुरधाम स्थित प्रादेशिक प्रयोगशालामा आफनो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । मधेशको राजधानी जनकपुरधाम स्थित प्रयोगशालामा वितिय अनुशासनका लागि प्रयोगशाला प्राङ्गणमा बैंकले आईतवार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

प्रादेशिक प्रयोगशालाका प्रमुख डा. श्रवण कुमार मिश्र र बैंककी मधेश प्रदेश प्रमुख रिना चन्दले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै प्रयोगशालाको सबै सेवाको आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले बिरामीलाई सहज हुने र अस्पताललाई पनि आर्थिक पारदर्शितामा सहज हुने बताए ।

बैंकका जनकपुरधाम शाखा प्रवन्धक गलेक कुमार यादवले वितिय अनुशासन र आर्थिक कार्यसम्पादन सहजताका साथै ग्राहकहरुको समेत सहजता र शुलभतालाई ध्यानमा राखेर सेवा विस्तार र सञ्चालन गरिएको बताए । कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख रिना चन्द, प्रयोगशाला र बैंकका कर्मचारीहरु सहितको उपस्थिति रहेको थियो ।
एक्सटेन्सन काउन्टरमार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप बैंकले यसअघि प्रादेशिक अस्पताल, मालपोल कार्यालय धनुषा सहित विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ । यस संगै मेगा बैंकको हाल देशभर २६० वटा शाखा र ६३ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् ।