एसपी रिपोर्टर
जनकपुरधाम, असोज ८ : सोमवार जनकपुरधामको मध्यबिन्दु जिल्ला प्रहरी कार्यालय अगाडि तयार भएको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभागृहको समुदघाटन प्रति सबै राजनितिक दलका नेताहरु खुसी व्यक्त गरेका छन् । २०५७ सालमा यस भेगका राष्ट्रिय नेता महेन्द्र नारायण निधिको स्मृतीमा केहि बन्नु पर्ने प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आग्रहमा तत्कालिन जनकपुरधाम नगरपालिकाका प्रमुख बजरंग प्रसाद साहले जग्गाको जोहो गरिदिएर जनकपुरधाममा विशेष कार्यक्रमहरुका लागि आवश्यक पर्ने सभाहल निर्माणको काम थालिएको कांग्रेस नेता विमलेन्द्र निधीले बताउछन् ।
उनले स्व. महेन्द्र नारायण निधिले महिलाको सम्मान गर्दै आफनी धर्मपत्नीको हातबाट शिलान्यास गरेको केन्द्रको पुर्णता आफनो लागि खुसीको क्षण भएको बताए । बुवाको नाम र स्मृतिमा आमाको हातबाट शिलान्यास भएको जनकपुरधामका लागि अति उपयोगी आयोजनाको सफलता र समुदघाटनले सम्पुर्ण परिवार खुसी भएको उनले बताए । कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेसका सम्मानित नेता निधिको स्मृतीमा बनेको सभाहलको समुदघाटन देशको अभिभावकको रुपमा गर्न पाँउदा खुसी लागेको बताए ।
नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य जुली महतोले भनिन, ‘यस क्षेत्रका अभिभावक स्व. नेता निधिको स्मृतिमा धेरै पहिला नै बन्नु पर्ने सभाहलको समुदघाटनले जनकपुरधाममा थप एक स्तरीय सुविधा र संरचनाको उपलब्धता भई पर्यटनको विकासमा सहयोग हुने बताए । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले केन्द्रको निर्माणले जनकपुरधाम प्रादेशिक राजधानीको रुपमा आगाडि बढदै गएको संकेत रहेको बताए ।
सहरी विकास मन्त्री सिता गुरुङ्ग र मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जनकपुरधाममा प्राज्ञिक, सांस्कृतिक र शैक्षिक गतिविधी गर्न उत्तम सभाहल उपलब्ध भएपछि पर्यटनको विकास हुने बताए । तत्कालिन जनकपुरधामका मेयर बजरंग प्रसाद साहले आफुले थालेको काम २३ वर्ष पछि पुरा भई राष्ट्रपतिको हातबाट समुदघाटन भएपछि खुसी लागेको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले पनि केन्द्रले जनकपुरधाममा थप एक विशेषण थपेको बताउदै मिथिला र मैथिली सांस्कृतिक गतिविधीका लागि उत्तम स्थलको निर्माण भएको बताएका छन् । उनले यस्को संरक्षण गर्न उपमहानगरपालिका प्रतिवद्व रहने समेत बताए ।