एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १८ : दुध उत्पादन गर्ने व्यवसायिक फर्मले अवलम्बन गर्नुपर्ने कल्याण सम्ब्न्धी मापदण्ड प्रदेश सरकारले ल्याएको छ । दुध उत्पादन गर्न व्यवसायिक रुपमा पशुपालन गर्ने फर्मले असल उत्पादन अवलम्बन गर्दै गाईभैंसी तथा बाख्राप्रति हुने निर्दयी व्यवहार रोकेर पशुको उचित व्यवस्थापन तथा विकासका लागि प्रदेश सरकारले मापदण्ड निर्धारण गरी कानून नै निर्माण गरेका छन् ।
सोमवार मधेश प्रदेश सरकारका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्यान्वयन सम्बन्धी मिडिया बिफ्रिङ्ग कार्यक्रम आयोजना गरी दुध उत्पादन गर्ने व्यवसायिक फर्मले अवलम्बन गर्नुपर्ने कल्याण सम्ब्न्धी मापदण्ड २०८० मा रहेको व्यवस्था बारे जानकारी गराएको छ ।
कार्यक्रममा बोल्दै एनएफएसीका प्रतिनिधि तथा पुर्व सचिव डा.विमल कुमार निर्मलले सो मापदण्डमा रहेका व्यवस्था र संघ सरकारले ल्याउन लागेको पशुकल्याण ऐन बारे जानकारी गराए । त्यस्तै स्नेहाल केयर नेपालका स्नेहा श्रेष्ठले पशुमाथि हुने निर्दयी व्यवहार रोक्न छुटै कानून नभएपनि मुलुकी अपराध संहितामा कारवाही सम्बन्धी व्यवस्था रहेपनि कार्यान्वयनमा आउन नसकेको गुनासो गरिन् ।
भदौ १ गतेदेखि नै लागू भएको सो मापदण्ड कार्यान्वयनका लागि किसान र सम्बन्धित निकाय सहितका सरोकारवालालाई जानकारी गराउन बिफ्रिङ्ग अघि बढाएको छ । सो मापदण्डमा दुधालु पशुलाई पाल्न गोठ, पशुपालन र आहारको व्यवस्था कस्तो हुनुपरयो, निर्दयी व्यवहार गर्न नहुने कुरामा जोडमा जोड दिइएको छ ।