एसपी रिपोर्टर
जनकपुरधाम, असार ८ : मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाले अगामि आर्थिक वर्ष २०८०/०८१ को लागि कुल २ अर्व २८ करोड २३ लाख ६८ हजार २ सय ९० रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको नव निर्मित अष्टाबक्र सभाहलमा आयोजित दशौं नगरसभामा उपप्रमुख किशोरी साहले सो परिमाणको बजेट सभा समक्ष पेश गरेका छन भने प्रमुख मनोज कुमार साहले अगामि आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
‘सफा, स्वच्छ, सुन्दर र सु–संस्कृत जनकपुरधाम उपमहानगर’ बनाउने नारासहित उपप्रमुख साहले नगर सभालाई सम्बोधन गर्दै विनियोजित खर्चमध्ये चालु खर्च १ अर्ब १३ करोड ६२ लाख, पुंजिगत खर्च ५६ करोड ९५ लाख १८ हजार २९०, वित्तिय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार र युआरएलआईपी संचालन तर्फ ५२ करोड ३३ लाख १७ हजार रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिए ।
उनले यसका अतिरिक्त विनियोजन बजेटमा अन्य अनुदान शिर्षक अन्तर्गत सामाजिक सुरक्षा भता लगायतमा बजेट सिलिङ्ग प्राप्त नभएकोले सामाजिक सुरक्षा भता लगायतका थप शिर्षकमा विनियोजित भई आउने रकम सोही अनुसार विनियोजन हुने बताए ।
उल्लेखित खर्च व्यहोर्न कुल राजश्वको अनुमान २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रुपैयाँ पेश गरिएको छ । जसमध्ये आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार २९०, वाह्य स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार तथा युआरएलआईपी संचालनको लागि नगर विकास कोषबाट प्राप्त हुने आन्तरिक ऋण ८ करोड ३७ लाख ६० हजार राजश्व, ऋण तथा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
आन्तिरिक स्रोततर्फ आन्तरिक राजश्व २१ करोड, नेपाल सरकार राजश्व बाँडफाँडबाट ३४ करोड ८४ लाख २६ हजार एक सय, प्रदेश सरकार राजश्व बाँडफाँडबाट १ करोड ८८ लाख ८५ हजार १९०, नगर विकास कोष ऋण ८ करोड ३७ लाख ६० हजार र जनसहभागिताबाट २ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको छ । यस उपमहानगरपालिकाको सञ्चित कोषमा बैंक मौज्दात २० करोड रहने अनुमान छ ।
वाह्य स्रोततर्फ अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार राजश्व र अनुदान प्राप्त हुने अनुमान गरिएको छ । नेपाल सरकारको सशर्त अनुदानबाट ६० करोड २९ लाख र नेपाल सरकार समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, नेपाल सरकार समपुरक अनुदानबाट १ करोड २५ लाख र युआरएलआईपी कार्यक्रम संचालनको लागि ४० करोड १२ लाख २३ हजार गरि जम्मा १ अर्ब ३४ करोड १६ लाख २३ हजार राजश्व तथा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकार सशर्त अनुदानबाट १ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदानबाट ७५ लाख, प्रदेश सरकार समपुरक अनुदानबाट ५० लाख र प्रदेश सरकार समानिकरण अनुदानबाट २ करोड ५१ लाख ७५ हजार गरी ५ करोड २६ लाख ७५ हजार राजश्व तथा अनुदान प्राप्त हुने अनुमान छ ।
दुई दिवसीय नगरसभाको समुदघाटन सत्रमा प्रदेश सांसद रामसरोय यादव, रामअशिष यादव, धनुषाका प्रमुख जिल्ला अधिकार काशिराज दाहाल, प्रमुख प्रशासकिय अधिकृत रतनेश शशी सहित वडा अध्यक्ष, सदस्य र पालिका सदस्यहरुको उपस्थिती थियो ।