एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १७ :
सिरहाको लहान नगरपालिका–१ मटिअर्वामा मंगलबार आमा र उनका पाँच वर्षीय छोरा मृत फेला परेका छन् । मृतकमा २३ वर्षीया रञ्जिता चौधरी र उनका छोरा एरोन रहेका जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक दीपककुमार सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार रञ्जिता कोठाभित्र झुण्डिएको अवस्थामा भेटिइन् भने उनका जेठा छोरा खाटमुनी मृत फेला परेका थिए । नौ महिनाका अर्का छोराको अवस्था गम्भीर छ । उनलाई प्रादेशिक अस्पताल लहानबाट सप्तऋषि अस्पताल रेफर गरिएको छ ।
लहान–१२ भोटिया टोलमा डेरामा बस्दै आएका उनीहरू बसेको कोठा भित्रबाटै चुकुल लगाइएको अवस्थामा घटना भएको थियो । सोही घरमा डेरा बस्ने अर्को व्यक्तिले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली पुगेको हो ।
प्रहरीले दुई बालकलाई विष खुवाइएकाले रञ्जिताले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक आशंका गरेको छ । उनका श्रीमान प्रविण चौधरी पछिल्ला दिनमा घर नआएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक आमा–छोराको शव प्रादेशिक अस्पताल लहानमा राखिएको छ ।