एसपी रिपोर्टर
जनकपुरधाम, माघ १६ : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको प्रहरी हिरासतबाट ६ जना थुनुवा फरार भएका छन् । गएराति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक बिश्वराज खडकाले बताए ।
भाग्नेहरूमा दुईजना केहि दिन अगागि धनुषाको नक्टाझिजबाट पेस्तोल सहित पक्राउ परेकाहरु, तीनजना शान्तिसुरक्षा अभद्र व्यवहार र एक जना लागूऔषधसम्बन्धी मुद्दाका अभियुक्त हुन् । प्रहरीका अनुसार हिरासतमा कुल सात जना थुनुवा थिए । एक जना सवारी दुर्घटना मुद्दाका थुनुवा भने भागेका छैनन् ।

इलाका प्रहरी कार्यालयको भवन पुरानो रहेको र हिरासतपट्टिको पर्खाल कमजोर भएको कारण ईट्टा फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ । ‘प्रहरी डिउटीमै थिए, अगाडिबाट भित्रको हिरासतभित्र देखिंदैन । भवन धेरै पुरानो रहेकाले पछाडिबाट फोडेर अभियुक्त भागेका रहेछन खडकाले भने , ‘उनीहरुको खोजी तीव्ररुपमा भइरहेको छ ।’

एसपी खवरसंगको कुराकानीमा एसपी खडकाले आफहरु छलफलमा जुटेको र छानबिन समिति बनाएर अनुसन्धान थाल्ने बताए । समिति गठनका लागि आफुहरु छलफलमा रहेको उनको भनाई थियो ।





