एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २:
जनकपुरधाममा सन्तशिरोमणि गोस्वामी तुलसीदासको जयन्तीका अवसरमा धार्मिक तथा आध्यात्मिक कार्यक्रमसहित विशेष महोत्सव आयोजना हुने भएको छ ।
श्री रामानन्दीय श्री वैष्णव संघले मंगलबार जनकपुरधाम–८ स्थित सन्त तुलसी स्मारक सदनमा पत्रकार सम्मेलन आयोजना गर्दै भदौ ३ गते बुधबार तुलसीदास जयन्ती महोत्सव मनाउन लागिएको जानकारी दिएको हो ।
संघका अध्यक्ष रामरोशन दास वैष्णवले तुलसीदासले रामभक्तिमार्फत सनातन धर्म, संस्कार तथा आध्यात्मिक चेतनाको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उहाँको धार्मिक तथा साहित्यिक योगदान नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।
महोत्सवअन्तर्गत साउन २६ गतेदेखि भदौ ३ गतेसम्म दैनिक बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म श्रीरामचरितमानस नवाह पारायण पाठ भइरहेको छ । यस्तै, अपराह्न ४ बजेदेखि राति ८ बजेसम्म बधाई, कथा, कीर्तन तथा सत्सङ्ग सञ्चालन भइरहेको संघले जनाएको छ । कार्यक्रममा विभिन्न विद्वान् तथा वक्ताबाट धार्मिक एवं आध्यात्मिक प्रवचनसमेत हुनेछन् ।
भदौ ३ गते जयन्तीको मुख्य दिन विशेष पूजा, श्री रामानन्दीय वैष्णव संघको पाठ, बधाई तथा प्रसाद वितरण गरिनेछ । त्यसपछि धार्मिक झाँकीसहित शोभायात्रा निकालिने अध्यक्ष दासले बताए । शोभायात्रामा बाजागाजा, संगीत, प्रवचन तथा धार्मिक उपदेशलगायतका कार्यक्रम समावेश गरिनेछ ।
अध्यक्ष दासले जनकपुरधाम धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले तुलसीदास जयन्तीजस्ता कार्यक्रमले मिथिलाको धार्मिक परम्परा र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्‍याउने बताए ।
सन्त तुलसी स्मारक सदनमा आयोजना हुने महोत्सवमा साधुसन्त, धर्मप्रेमी, श्रद्धालु तथा सर्वसाधारणको सहभागिताका लागि संघले आग्रह गरेको छ । रामचरितमानस पाठ, धार्मिक प्रवचन, कीर्तन, सत्सङ्ग तथा शोभायात्रालाई महोत्सवका प्रमुख आकर्षणका रूपमा राखिएको छ ।