एसपी रिपोर्टर
जनकपुरधाम, साउन १:
जनकपुरधामलाई व्यवस्थित, सुरक्षित तथा पर्यटकमैत्री गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पर्यटन सूचना बोर्ड तथा दिशासूचक संकेत चिन्ह जडानको तयारी अघि बढाइएको छ।
यसका लागि जनकपुरधाम उपमहानगरपालिका, दिगो पर्यटन परियोजना, नेपाल पर्यटन बोर्ड र वाटरकम स्ट्राटेजी एण्ड डिजाइनको सहकार्यमा सरोकारवालासँग छलफल गरिएको हो।
छलफलमा जनकपुरधामका प्रमुख धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूमा सूचना बोर्ड र दिशासूचक संकेत चिन्ह जडान गरिने स्थानको छनोट, बोर्डको डिजाइन, समावेश गरिने सूचना तथा कार्यान्वयन प्रक्रियाबारे विस्तृत छलफल गरिएको थियो।
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले जनकपुरधाम धार्मिक पर्यटनको प्रमुख केन्द्र भएकाले पर्यटकलाई सहज सेवा उपलब्ध गराउन आधुनिक सूचना प्रणालीको विकास आवश्यक रहेको बताए। उनले सूचना बोर्ड तथा दिशासूचक संकेत चिन्हको प्रभावकारी उपयोगका लागि पर्यटन व्यवसायी र टुरिस्ट गाइडहरूको सक्रिय सहभागिता आवश्यक हुने उल्लेख गरे।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले स्थानीय सरकारले पर्यटन पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले दैनिक सञ्चालन हुने अन्तर्गृह परिक्रमामा सहभागी हुने धार्मिक पर्यटकलाई लक्षित गर्दै आवश्यक पूर्वाधार निर्माणको तयारी भइरहेको जानकारी दिए।
कार्यक्रममा प्राप्त सुझावका आधारमा पर्यटन सूचना बोर्ड तथा दिशासूचक संकेत चिन्ह जडान गरिने स्थानको अन्तिम टुंगो लगाइने र त्यसपछि निर्माण तथा स्थापना प्रक्रिया अघि बढाइने आयोजकले जनाएको छ।
जनकपुरधामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने अभियानअन्तर्गत यस पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।