एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २१ :
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा धनुषा–३ का प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधामलाई संरक्षित क्षेत्रका रूपमा विकास गर्ने तयारी तीव्र बनाइएको बताएका छन् ।

जनकपुरधाममा निर्माण हुन लागेको पाँचतारे होटलको शिलान्यास कार्यक्रममा उनले आगामी तीन महिनाभित्र जनकपुरधामलाई संरक्षित क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाले आवश्यक नक्सांकनको काम सम्पन्न गरी प्रतिवेदन पुरातत्व विभागमा बुझाइसकेको छ ।

अब पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरी प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरिने प्रक्रिया अघि बढाइने उनले बताए । मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि ६ महिनाभित्र जनकपुरधामलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रस्ताव पठाइने तयारी रहेको उनले उल्लेख गरे ।

सांसद झाले सम्पूर्ण प्रक्रिया पूरा गर्न करिब १ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको जानकारी दिँदै जनकपुरधामका ऐतिहासिक तथा धार्मिक सम्पदा संरक्षण अपरिहार्य रहेको बताए । उनले शहरको मौलिकता जोगाउन स्थानीय नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको पनि उल्लेख गरे ।