एसपी रिपोर्टर
जनकपुरधाम, असोज २५ :
मिथिलाको परम्परागत पहिरनलाई जगेर्ना गर्ने र यसको प्रचारप्रसार गर्ने उद्देश्यसहित युवाहरुले जनकपुरधाममा सांस्कृतिक पहिरन अभियान शुरु गरेका छन्।
शनिबार गंगासागरमा भेला भएका युवायुवतीहरू धोती, कुर्ता र सारी लगाएर जानकी मन्दिरसम्मको यात्रा गर्दै अभियानको सुरुवात गरेका हुन्।

अभियानका अगुवा मोहन महतो कोइरीका अनुसार पछिल्लो समय युवामाझ धोती–कुर्ताप्रति बढ्दै गएको वितृष्णा कम गर्न र यसलाई गर्वका साथ धारण गर्ने वातावरण बनाउन अभियान थालिएको हो। युवायुवतीहरूले मिथिलाको वस्त्र मात्र नभई सम्पूर्ण संस्कृति जोगाउने जिम्मा आफूहरुमाथि रहेको बताउँदै परम्परागत पोशाकलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रमपछि उनीहरू मैथिली विकास कोषको भवनमा पुगेका थिए, जहाँ सांस्कृतिक पहिरनको संरक्षण र यसको आगामी प्रवर्द्धनका उपायबारे छलफल गरिएको थियो।



