एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २९ :
सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मिथिलानी महिलाहरु ओंगठन विधि गर्दै जितिया पर्व अन्तर्गत उपवास शुरु गरेकी छन ।
शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ओंगठन खाएसँगै मिथिलानीहरुले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ ।

शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन सुरु भएको हुँदा मिथिलानीले ‘ओगटन’ पछि उपवास सुरु गर्नुपरेको हो । अष्टमी तिथि आज बिहान ८ः४४ बजेदेखि सुरु हुने भए पनि व्रत भने शनिबार मध्यरातपछि सुरु भएको हो ।
यो निराहार व्रत भोलि सोमबार बिहान ६ बजेर ५० मिनेटमा समापन गर्न सकिने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ ।
पर्वको मुख्य दिन आज सबै बर्तालु राजा जिमुतवाहनको कथा सुन्दै छन् । द्वापर युगमा भारत वर्षको नर्वदा नदी तटीय प्रदेशका राजा शालीवाहनका पुत्र देवदूत जिमुतवाहनले असोज कृष्ण अष्टमीकै दिन एक बिधवा ब्राह्मणीका सात भाइ मरेका छोरालाई व्युताएका कथाका आधारमा सन्तानको कल्याणका लागि यो व्रत परम्परा थालिएको मैथिल जनविश्वास छ । यो व्रतबारे भविष्य पुराणमा वर्णन छ । निष्ठा र श्रद्धापूर्वक गरिने जितिया व्रतको प्रभावले सन्तानको कल्याण हुनेसँगै आमाहरूलाई सन्तानले अत्यन्त सुख दिने विश्वास गरिन्छ ।





