एसपी रिपोर्टर
जनकपुरधाम, असोज २५ :
खत्वे समाज समितिको मधेस प्रदेश समितिले आफ्नो जातिलाई शासन व्यवस्थाका विभिन्न निकायमा समानुपातिक रुपमा सहभागी गराउन माग गरेको छ।
शनिबार जनकपुरधाममा सम्पन्न समितिको प्रथम मधेस महासम्मेलनमा बोल्दै मधेस अध्यक्ष राजाराम मण्डलले राज्यका निकायमा खत्वे समाजलाई बञ्चित गरिएको आरोप लगाउँदै अब हुने निर्वाचनमा आफ्ना जातिका उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने बताए। उनले मागअनुसार सहभागिता सुनिश्चित नभए सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए।

महासम्मेलनका प्रमुख अतिथि पूर्व संविधानसभा सदस्य रामदयाल मण्डलले लोकतन्त्रमा जातीय विभेदको स्थान नरहेको बताउँदै, खत्वे समाज ढिलै भए पनि संगठित भएर अगाडि बढ्नु सकारात्मक भएको टिप्पणी गरे। उनका अनुसार संगठित समाजले अब विभेदको शिकार हुनुपर्ने अवस्था नरहनेछ।

महासम्मेलनमा खत्वे समाजले भोग्दै आएका समस्या, तिनको समाधान र आगामी रणनीति सम्बन्धमा छलफल भएको थियो। कार्यक्रममा नयाँ प्रादेशिक समिति समेत चयन गरिने आयोजकले जनाएका छन्।



