एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २० :
विद्यालय तथा क्याम्पस ड्रेसमै होटल, रेष्टुरेन्ट वा लजमा पुग्ने विद्यार्थीहरू अवाञ्छित गतिविधिमा संलग्न हुने क्रम बढेकाले उनीहरूलाई सेवा उपलब्ध नगराउन हिसान धनुषा ले अपिल गरेको छ।
हाल जनकपुरधाम उपमहानगरपालिकाभित्रका धेरै विद्यार्थी गाउँबाट डेरा गरी बस्ने गरेका छन्। तर, केही विद्यार्थी ड्रेसमै होटलमा गई जन्मदिन मनाउने, फजुल खर्च गर्ने, अश्लील टिकटक भिडियो खिच्ने र कोठा भाडामा लिएर अश्लील हर्कत गर्ने गतिविधि बढिरहेको भन्दै हिसानका अध्यक्ष सञ्जीव ठाकुर द्वारा जारी विज्ञप्तिमा गम्भीर चिन्ता व्यक्त गरिएको छ।
यस्ता क्रियाकलापले विद्यार्थीको भविष्यसँगै विद्यालय–क्याम्पस र अभिभावकको प्रतिष्ठामा समेत आघात पुगेको भन्दै गत साउन १६ गते बसेको हिसान धनुषाको बैठक ले यस्तो निर्णय गरेको हो।
निर्णयलाई प्रभावकारी बनाउन हिसानले होटल व्यवसायी संघसँग सहकार्य गर्न आग्रह गरेको छ। साथै, सम्बन्धित निकायलाई होटल, रेष्टुरेन्ट र लजलाई कडा निर्देशन दिई विद्यालय वा क्याम्पस ड्रेसमै आउने विद्यार्थीलाई कुनै सुविधा उपलब्ध नगराउन परिपत्र जारी गर्न अनुरोध गरेको छ।



