एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ : जनताको जनमतलाई मान्ने हो भने जनकपुरधामका मेयर पदमा बसिरहँदा मनोज कुमार साह कांग्रेसी होइनन् । उनी स्वतन्त्र उम्मेदवारका रुपमा मेयरमा चुनाव जित्नेबित्तिकै जनताको जनमतलाई लत्याएर विजयी जुलुशकै दिन पुनः कांग्रेसी बन्न पुगे र कांग्रेसले फेरि पनि उनैलाई नगरसभापतिको जिम्मेवारी दिँदै थप अर्को भुल आजको उनको गतिविधिले दर्शाउदै छ ।
हाल आफ्नै बाक्लो कार्यकर्ताका असन्तुष्टिबीच निर्वाचन आयोगबाट चुनावका लागि भन्दै नेपाली कांग्रेसको केन्द्रीय सभापतिको मान्यता पाएका गगन थापा, यसअघि महामन्त्री उनीसँगको कुनै पनि गतिविधि र चासोमा नरहेका मेयर साह गगन थापाले मान्यता पाउनेबित्तिकै भक्तिगानमा लिप्त छन् । यसको व्यापक आलोचना भइरहेको छ ।
मानिस पावरको कतिसम्म पुजारी हुन्छ भन्ने कुराको नाङ्गो उदाहरण अहिले मेयर साह बनेका छन् । अब तलको दुईटा म्यासेजको स्क्रिनसट हेर्नुहोस् ।

शुक्रवार रातीसम्म नगरसभापति मेयर साह र उनका आसेपासेले दुई किसिमको म्यासेज प्रवाह गरी कार्यकर्ता र आफ्ना नियोजित लड्डु काण्डलाई प्रचार गर्न पत्रकारलाई पनि बेग्लै म्यासेज पठाउन लगाउँछन् । कार्यकर्तालाई पठाइएको म्यासेजमा नगर कार्यसमितिको आयोजना भन्दै प्रस्ताव र उद्देश्य बिनाको सूचना प्रवाह गरी नगर पदाधिकारी, सदस्य, कांग्रेसबाट निर्वाचित र प्रत्यासी वडा अध्यक्ष र वडा सदस्यहरुलाई आग्रह गरिएको छ भन्ने पत्रकारहरुलाई पत्रकारसँगको भेटघाट भन्दै बोलाइएको देखिन्छ ।
एकै समयमा दुई पक्षलाई फरक फरक शब्दले भ्रमित गरि आमन्त्रण गरिएको छ ।देश र पार्टी गम्भीर संकटमा रहेका बेला देशकै जेठो सबैभन्दा ठूलो आफ्नै पार्टी फुटेको खुसीमा घ्युको लड्डु व्यवस्थापन गरेका मेयर साहको टिम, त्यहाँ पुगेका कार्यकर्ताहरुलाई आफ्नै अभिभावक नेताविरुद्धमा भाषण गरी लड्डु बाँटन थालेपछि उनको योजना स्पष्ट भयो र अधिकांश कार्यकर्ता लड्डु नखाँदै बाहिरिएका थिए ।
नगर सहसचिव शुभाष पाठकले नगरको विस्तारित बैठक भनेर आफूहरुलाई बोलाएर पार्टी फुट्दा सम्पूर्ण देश र पार्टी पंक्तीमा रोदन रहेका बेला लड्डु बाँट्ने काम गरेर नगरसभापति साहले गैरजिम्मेवारी चरित्र प्रदर्शन गरेको भन्दै भत्र्सना गरेका छन् ।
घरमा दुःख र पीडा रहेको बेला अभिभावकीय भूमिकामा रहनुपर्ने व्यक्तिबाटै भएको गतिविधि र आफ्नै नेताहरु प्रतिको टिप्पणी निन्दनीय रहेको उनको तर्क छ । कांग्रेसकै कारण मेयर बनेका मेयर साहको शनिवारको काम कांग्रेस सिध्याएर मज्जा लिने काम भएको उनको आरोप छ ।





