एसपी रिपोर्टर
जनकपुरधाम, पुष २७ : शहिद पत्रकार उमा सिंहको १७ औं स्मृति दिवसमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले शहिद पत्रकार सिंहलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै श्रमजीवीमैत्री कार्यक्रमको आयोजना समेत गरेको छ ।
शाखाका अध्यक्ष पुरन साहको अगुवाईमा शाखाको भवनमा विहान पत्रकारहरुको निः शुल्क स्वास्थ्य परिक्षण (मधुमेह, रक्तचाप, लिपिड प्रोफाईल, युरिन) गराएको छ जसमा ४० भन्दा बढि पत्रकारहरु प्रतिकुल मौसमका बाबजुद पनि स्वास्थ्य परिक्षण गराएका छन् । स्वास्थ्य परिक्षणमा सम्पूर्ण प्राविधिक सहयोग जनकपुरधामको प्रादेशिक अस्पताल अगाडि रहेको हाईटेक प्याथोलोजिले गरेको थियो ।

महासंघ धनुषाले आइतवार बेलुकी महासंघको प्राङ्गणमा श्रद्धाञ्जलीसभाको आयोजना गरि शहिद पत्रकार उमा सिंह तथा पुष २५ गते राती निधन भएको नेपाल पत्रकार महासंघका प्रथम केन्द्रिय सभापति होमनाथ दाहाल प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै महासंघ धनुषाका अध्यक्ष पुरन साहले महासंघ धनुषाका पुर्व उपाध्यक्ष ईश्वर चन्द्र झा र पुर्व केन्द्रिय पार्षद तथा पुर्व मधेश प्रदेश कोषाध्यक्ष प्रविण साहलाई मातृशोक परेको स्मरण गर्दै मृत आत्माको चिर शान्तिको कामना र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका थिए ।

सो अवसरमा प्रेस स्वतन्त्रता सेनानीद्वय अशोक रौनियार, राम भरत साह, केन्द्रिय लेखा समिति संयोजक केशी लामिक्षाने, केन्द्रिय सदस्य राजेश कर्ण, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, वरिष्ठ पत्रकार विएम खनाल, महासंघ धनुषाकी पुर्व अध्यक्ष मनिका झा, सल्लाहकार नित्यानन्द मण्डल सहितको उपस्थिती थियो ।






