एसपी रिपोर्टर
जनकपुरधाम, पुष २७ : नेपाल मेडिकल एशोसिएशन (एनएमए) जनकपुर अञ्चल शाखाको अध्यक्षमा चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. रामज्ञान यादव निर्वाचित भएका छन् । चार जिल्ला कार्यक्षेत्र रहेको एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा क्यान्सर रोग विशेषज्ञ डा. अवधेश कुमार साहलाई मात्र दुई मतले पराजित गर्दै डा. यादव अध्यक्षमा निर्वाचित भएका हुन ।
एशोसिएशनको १३ सदस्यीय कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा यादवले २ सय ७६ मत ल्याए भने उनको निकटतम प्रतिद्वन्द्वी डा. साहले २ सय ७४ मत ल्याए । त्यस्तै एशोसिएशनको बरिष्ठ उपाध्यक्ष पदमा डा. विजयकुमार कापर, उपाध्यक्षमा डा. निरञ्जन गोइत, सचिवमा डा. विजयकुमार साह, सह–सचिवमा डा. रोविन झा, कोषाध्यक्षमा डा. रतिश सिंह र सह–कोषाध्यक्षमा डा. शम्भुकुमार साह निर्वाचित भएका हुन् ।

त्यस्तै कार्यसमिति सदस्यमा डा. जितेन्द्र ठाकुर, डा. रविन प्रताप साह, डा. बलरामकुमार मण्डल, डा. ममताकुमारी साह, डा. रामप्रताप साह विजयी भएका हुन् । मतदानमा धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीका ८ सय ९५ मतदाता सहभागी भएका थिए ।





