एसपी रिपोर्टर
जनकपुरधाम, पुष २३ : मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि रिक्त हुन लागेको चारवटा सिटहरुमा कुल ११ जना उम्मेदवारहरूको मनोनयन दर्ता भएको छ । मधेस प्रदेशबाट अन्य महिला, दलित, अपाङ्गता अल्पसंख्यक र अन्य गरी चारकोटामा चारवटा सिट रिक्त हुँदैछ ।
यस चारवटा रिक्त हुन लागेको सिटहरूमा गठबन्धन गरेर नेपाली कांग्रेसको तर्फबाट अल्पसंख्यक तर्फ रञ्जित कर्णले उम्मेदवारी दर्ता गराएका छन् भने दलिततर्फ धर्मेन्द्र पासवानले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेससँगकै गठबन्धनमा एमालेको तर्फबाट महिलातर्फ महोत्तरीकी रेखा झाले उम्मेदवारी दिएकी छन् भने अन्यतर्फ लोसपाका राष्ट्रिय अध्यक्ष महन्त ठाकुरले आफ्नो उम्मेदवारी दिएका छन् ।

जसपा नेपाल पनि सोही गठबन्धनमा रहेको चर्चा चलेपनि जसपा नेपालले भने अन्यतर्फ उम्मेदवारी दिएका महन्त ठाकुरको सिट कोटा बाहेक तीन सिटमा आफ्नो अलग्गै उम्मेदवारी दर्ता गराएको छ । जसपा नेपालले अल्पसंख्यक तर्फ शैलेश चौधरी, महिला तर्फ चन्द्रकला साह, तथा दलित तर्फ चमेली देवी दासलाई उम्मेदवार बनाएको हो ।

गठबन्धनबाट नेकपा बाहिरिएपछि लोसपा र जसपा नेपाललाई एकएक गरी दुईटा सिट दिने सहमति भएको तर पालना नभएपछि आफूहरूले अलग्गै उम्मेदवारी दिएको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले बताए । यता नेपाली कांग्रेस नेकपा एमाले र नेकपा गरी महागठबन्धन हुने चर्चा चले पनि नेकपा भने अलग्गै उम्मेदवारी दिएको छ । नेकपाले रिक्त हुन लागेको चारवटै कोटामा उम्मेदवारी दिँदै दलिततर्फ शम्भु पासमान, अन्यमा लक्ष्मण पौडेल, अपाङ्गता तथा अल्पसंख्यकतर्फ रामानन्द प्रसाद र महिला कोटामा समी अग्रवाललाई उम्मेदवार बनाउँदै मनोनयन दर्ता गराएका छन् ।

मतभारको आधारमा जित्ने आधार देखिएको नेपाली कांग्रेस नेकपा एमाले र लोसपाका उम्मेदवारहरूले पार्टीले मूल्याङ्कन गरेकोमा खुसी व्यक्त गर्दै राजनितिमा धैर्यता र गलनशिलता हुनुपर्ने बताए । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनका मतदाताहरुमा १०४ जना प्रदेशसभा सदस्यहरू रहेकोमा हरेक सदस्यको मतभार प्रति व्यक्ति ५३ रहेको छ भन्ने २६६ जना पालिका प्रमुख र उपप्रमुख रहेकोमा उनीहरू हरेकको मतभार प्रति व्यक्ति १९ रहेको छ ।





