एसपी रिपोर्टर
जनकपुरधाम, पुष २० :
नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले वर्तमान अन्तरिम सरकार चुनाव गराउने पक्षमा नरहेको आरोप लगाउनु भएको छ । जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उपमहासचिव महासेठले वर्तमान अन्तरिम सरकार चुनावको वातावरण बनाउनुको साटो राजनीतिमा व्यस्त भएको आरोप लगाउनु भयो ।

उहाँले वर्तमान अन्तरिम सरकारमा रहेका मन्त्रीहरु दल खोल्ने, प्रधानमन्त्री, मन्त्री बाँडफाँडमा व्यस्त रहेकाले यो सरकार फागुन २१ गते चुनाव गराउँछ जस्तो लाग्दैन उहाँले भन्नु भयो । उहाँले अहिलेसम्म नेपालमा बनेका अन्तरिम सरकारहरु सफल भएपनि यो अन्तरिम सरकार सफल होला जस्तो नलागेको बताउनु भयो ।

उपमहासचिव महासेठले गैरसंवैधानिक सरकारले प्रतिनिधिसभा विघटन गरेकाले पुनस्र्थापना हुनुपर्ने बताए । जेनजी आन्दोलनको नाममा असंवैधानिक रुपमा बनेको सरकारले प्रतिनिधिसभा विघटन गर्नु गैरकानुनी रहेको बताए । यद्यपि आफूहरु चुनाव विरोधी वा चुनावबाट डराउने शक्ति नरहेको बताए ।

महासेठले ‘सर्वोच्चबाट होस वा कुनै विधि होस प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ, अगाडि भने ‘प्रतिनिधिसभा पुनस्र्थापना पश्चात संसद भित्रबाटै सर्वदलीय सरकार गठन हुनु पर्छ ।’ सोही सर्वदलीय सरकारले चुनाव गराउनुपर्ने पक्षमा आफूहरु रहेको महासेठले बताए । तर यसको अर्थ यो होइन कि हामी चुनावबाट भाग्छौँ ।

यदि सर्वोच्चबाट प्रतिनिधिसभा पुनस्र्थापना नभए हामी चुनावमा जान्छौँ र यसकालागि आन्तरिक रुपमा चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुलाई महासेठले निर्देशन समेत दिए । एक अर्को प्रसंगमा महासेठले गणतन्त्र विरोधी शक्ति, कम्यनुष्टि सरकार नरुचाउने तथा नेपाली कांग्रेस एमाले गठबन्धन सरकारको लोकप्रियता नरुचाउने शक्तिहरु जेनजीको नाममा गत भदौ २३ र २४ गते विध्वंस मच्चाएको आरोप लगाए ।