एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३१ :
जनकपुरधामस्थित राजर्षि जनक पतंजली योग साधना केन्द्रले गुठी संस्थान जनकपुरधाममाथि भुमाफियासँग मिलेमतो गरी जग्गा कब्जा गर्न खोजेको आरोप लगाएको छ।
केन्द्रले जनकपुरधाम-८ मा रहेको कपालमोचनी पोखरीको डिलमा स्थित गुठी तैनाथी जग्गामा सञ्चालन हुँदै आएको योग शिविरका लागि गुठी संस्थानले सूचना प्रकाशित गरेपछि विरोध प्रकट गरेको हो।

यसै सन्दर्भमा योग साधना केन्द्रका पदाधिकारीहरूले गुठी संस्थान जनकपुरधाम कार्यालय पुगेर विरोध प्रदर्शन गर्दै ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। ती मागहरूमा सिट नम्बर १३५५–१७ तथा कित्ता नम्बर ५८ को ७ कठ्ठा जग्गासम्बन्धी सूचना स्थगित गर्ने, गुठी र योग साधना केन्द्रबीचको सम्झौता नवीकरण गर्ने, पोखरीको जग्गा यकिन गर्ने, साधना केन्द्रमा राज्य लगानी सुनिश्चित गर्ने लगायतका बुँदा समावेश छन्।

यता गुठी संस्थान जनकपुरधामले भने गत असोज १२ गते निकालिएको सो जग्गासम्बन्धी सूचना स्थगित भइसकेको जनाएको छ। तर संस्थानले सो क्षेत्रको जग्गाको उचित व्यवस्थापन हुनुपर्ने आवश्यकता औंल्याएको छ।



