एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३१ :
GenZ Movement Alliance (विभिन्न Gen Z समुदायहरूको ऐक्यबद्ध समूह) ले मधेश प्रदेशमा लोसपाका नेता माननीय जितेन्द्र प्रसाद सोनल (सोनार) को नेतृत्वमा नयाँ सरकार गठन भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।

सङ्गठनले जारी गरेको वक्तव्यमा जेन-जी आन्दोलनको दबाबका कारण केन्द्रमा तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओली र मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएको प्रसङ्ग उल्लेख गरिएको छ। त्यसअनुसार केन्द्रमा सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको र २०८२ असोज ३० गते सोनलको नेतृत्वमा मधेशमा नयाँ सरकार गठन भएको स्वागतयोग्य कदम भएको गठबन्धनले जनाएको छ।

वक्तव्यमा गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षताको पक्षमा अडिग रहनु पर्ने आवश्यकता औंल्याइएको छ। साथै, जेन-जी आन्दोलनको मर्म र भावनाअनुरूप सामाजिक तथा आर्थिक न्याय सुनिश्चित गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने र सुशासनको प्रत्याभूति हुने गरी नयाँ सरकार काम गर्ने विश्वास पनि व्यक्त गरिएको छ।