एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३० :
जनता समाजवादी पार्टी, नेपाल मधेसको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ । नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रक्रिया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र राय यादवले अधिवेशनको निर्वाचन प्रक्रिया बहिष्कारको घोषणा गरेका हुन् ।

https://www.facebook.com/reel/661376843433315

उनलाई आठ मध्ये पाँच जिल्लाका अध्यक्ष, पुर्व मुख्यमन्त्री सरोज यादव, पुर्व अर्थमन्त्री संजय यादव, प्रदेशसभा सदस्य अनिरुद्दप्रसाद सिंह, पुर्व प्रदेश अध्यक्ष रामबाबु यादव सहितको साथ छ । उनका साथै रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाही जिल्लाका जिल्ला अध्यक्षहरुले पनि यादवलाई समर्थन जनाएका छन् । जसपा नेपालको विधानविपरीत अधिवेशन भइरहेकोले आफूहरुले अधिवेशन बहिष्कार गरेको अध्यक्ष पदका उम्मेदवार यादवले बताए ।

पुर्व मुख्यमन्त्री लालबाबु राउत, प्रतिनिधिसभा सदस्य दिपक कार्की, राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादव सहितका मिलेर फर्जी सदस्य बनाएर पार्टी कब्जा गर्न चाहेको र पार्टी अध्यक्ष उपेन्द्र यादव मौन रहेको उनीहरुको आरोप छ । अधिवेशन कर्मकाण्डी हिसावले चलिरहेको र अर्का उम्मेदवार बाल यादवले विधान विपरित आफूखुशी हुलका हुल प्रतिनिधि छनौट गरेकाले आफूहरु अधिवेशनमा सहभागी हुने वातावरण नरहेको बताए ।

आफूहरुलाई बन्द सत्रमा समेत महत्व नदिइएको उनको आरोप छ । यादवसँगै उनको प्यानलबाट उम्मेदवार रहेकाहरुले समेत निर्वाचन प्रक्रिया बहिष्कार गरेका छन् ।