एसपी रिपोर्टर
जनकपुरधाम, असोज २७ : मधेश प्रदेशका विभिन्न निजी स्वास्थ्य संस्था (होस्पिटलहरु) मा कार्यरत युवा स्वास्थ्यकर्मीहरूले आफूहरू माथि हुँदै आईरहेको असमान व्यवहार तथा श्रम शोषण विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गर्दै निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले ८ बुँदे माग राख्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
श्रम शोषण तथा असमान व्यवहार भईरहेकाले आफूहरुले उठाएको माग पूरा नभए कार्तिक १६ गते अस्पताल खाली गरेर शान्तिपूर्ण आन्दोलनमा उत्रिने स्वास्थ्यकर्मी नवेश अधिकारीले चेतावनी दिनुभयो । उहाँले मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले त्यसको कार्यान्वयन नगरेको आरोप समेत लगाउनु भयो ।

निजी अस्पतालहरूले स्वास्थ्यकर्मीको तलब, सुरक्षाको व्यवस्था, बीमा, कामको समय र सेवा सुविधाबारे सरकारले तोकेका मापदण्ड पालना स्वास्थ्यकर्मीहरूको मनोबल तोड्ने काम गरिरहेको उहाँको भनाई छ ।
स्वास्थ्यकर्मीहरुले नेपाल सरकारको ऐन अनुसार सबै निजी अस्पतालमा तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थामा कार्यरत करारका कर्मचारी हटाई प्रदेश लोकसेवाबाट विज्ञापन हुनुपर्ने, स्वास्थ्यकर्मीहरूको सुरक्षा र बीमा अनिवार्य गर्नुपर्ने, प्रत्येक निजी अस्पतालमा हप्ताको ४२ घण्टा मात्र कामको सीमा निर्धारण गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको परिवारलाई निःशुल्क उपचार सुविधा उपलब्ध गराउनुपर्ने, प्रत्येक वर्ष १० प्रतिशत तलब वृद्धि हुनुपर्ने लगायतका माग अगाडी सारेका छन् । मधेस प्रदेशमा निजी अस्पतालहरुमा २० हजार बढी स्वास्थ्यकर्मीहरु कार्यरत छन् ।



