एसपी रिपोर्टर
जनकपुरधाम, असोज २७ :
एमाले निकट युवा संघ र अनेरास्ववियुले काठमाडौं महानगरका नगरप्रमुख बालेन साह र हामी नेपालका सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय धनुषामा जाहेरी दिएका छन् ।

जुलुश प्रदर्शन सहित सम्बन्धित कार्यालय धनुषा पुगेका युवा नेता कार्यकर्ताहरुले काठमाडौँका नगर प्रमुख साह र जेनजी आन्दोलनका अगुवा गुरुङ्ग विरुद्ध आपराधिक उपद्रवको अभियोगमा जाहेरी दिएका छन् । यद्यपि दुवै कार्यालयमा जाहेरी बुझेपनि दर्ता नगरेपछि जिल्ला हुलाक कार्यालय मार्फत पनि ति सम्बन्धित कार्यालयहरुमा जोहेरी पठाइएको युवा नेता राजु साहले बताए ।

उनले भने, ‘मधेशको सबै जिल्लामा भौतीक र हुलाक मार्फत युवा संघ र अनेरास्ववियुले काठमाडौं महानगरका नगरप्रमुख बालेन साह र हामी नेपालका सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ ।’

जिल्ला प्रहरी कार्यालय धनुषामा दायर गरिएको जाहेरीमा दुबै जनाले जेनजी आन्दोलनको क्रममा भीडलाई लुटपाट, तोडफोड तथा आपराधिक उपद्रव गर्न उक्साएको आरोप युवा संघका कार्यकर्ताहरुले लगाएका छन् ।

जाहेरीमा मुलुकी फौजदारी संहिता, २०७४ को दफा १७७, १७८, २४४ र २५५ अनुसार कानुनी कारबाहीको माग गरिएको छ । जाहेरी अनुसार बालेन साह र सुदन गुरुङको नेतृत्वमा भीड जम्मा भई सरकारी र निजी सम्पत्तिमा क्षति पु¥याउने, लुटपाट र सार्वजनिक सुरक्षामा जोखिम पु¥याउने कार्यहरू भएको उल्लेख छ ।