एसपी रिपोर्टर
जनकपुरधाम, असोज ९ :
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी पुस्तान्तरण मात्र नभई सम्पूर्ण रुपान्तरणको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ। बिहीबार जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उहाँले जेन–जी पुस्ताले उठाएका माग सम्बोधन गर्नुका साथै विगतका आन्दोलनबाट हासिल भएका उपलब्धीलाई पनि संस्थागत गर्दै कांग्रेस अगाडि बढ्ने बताउनुभयो।
महामन्त्री शर्माले भन्नुभयो, “जेन–जी पुस्ताले उठाएका माग सम्बोधन गरिने नै हो, तर त्यससँगै अन्य पुस्ता र विगतका आन्दोलनबाट प्राप्त अधिकारलाई पनि संस्थागत गर्ने पक्षमा कांग्रेस छ।”
यस्तै अर्को प्रसंगमा उहाँले मधेस सरकारको नेतृत्व अब नेपाली कांग्रेसले गर्नुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार, कांग्रेसलाई मजबुत बनाउन सबैभन्दा धेरै बलिदान दिने पार्टी नै मधेसको नेतृत्वमा नपुगेको विडम्बना अब दोहोरिनु नहुने भएकोले मधेस सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने समय आएको छ।



