एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ :
मधेस प्रदेशमा मुख्यमन्त्री सतिशकुमार सिंह र उनकाे पार्टी जनमत पार्टी दुई धारमा विभाजित भएको छ।
जेन–जी आन्दोलनपछि पहिलो पटक बसेको प्रदेशसभा बैठकमा जनमत पार्टीकै नेतृत्वमा सरकार रहे पनि मुख्यमन्त्री सिंहबाहेक अन्य जनमतका प्रदेशसभा सदस्यहरू प्रतिपक्षतर्फ बसेका थिए। मंगलबारको बैठकमा जनता समाजवादी पार्टी नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसँगै जनमतका सदस्यहरूले पनि प्रतिपक्षको सिट ग्रहण गरेका थिए ।
जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाउने पत्र प्रदेश प्रमुखको कार्यालय तथा प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए। तर, मुख्यमन्त्री सिंहले राजीनामा दिन अस्वीकार गरेपछि बाँकी सदस्यहरू प्रतिपक्षमा बसेका थिए।
सभामुख रामचन्द्र मण्डललाई दलका नेता यादवले औपचारिक रूपमा प्रतिपक्षमा बस्ने जानकारी दिएपछि सभामुखले सिट व्यवस्थापन सोही अनुसार मिलाएका थिए।



