एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १८ :
प्रत्येक वर्षझैं यस वर्ष पनि जनकपुरधाममा विजयादशमीलाई लक्षित गरी दशैँ बजार लाग्ने भएको छ। दशैँ बजारलाई व्यवस्थित र प्रभावकारी बनाउन जनकपुरधाम उद्योग वाणिज्य संघले सरोकारवालासँग छलफलसमेत गरेको छ।
बुधबार सम्पन्न सर्वपक्षीय बैठकमा बजारको अनुगमन, सामानको गुणस्तर परीक्षण, सुरक्षा व्यवस्था लगायतका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले यस वर्षको दशैँ बजारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

४० वर्षदेखि निरन्तर लाग्दै आएको दशैँ लक्षित बजारमा विगतमा करिब ८५ वटा स्टल रहने गरे पनि यस वर्ष १५ देखि २० वटा मात्र स्टल रहने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्षको बजारमा नेपाली उत्पादनजस्तै साबुन, अगरबत्ती, डिटर्जेन्ट पाउडर, खाद्य सामग्री लगायतलाई विशेष प्राथमिकता दिइनेछ।
अध्यक्ष भण्डारीले आगामी दिनमा जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालन गर्ने विषयमा पनि छलफल अघि बढाइने जानकारी दिनुभयो। यस पटक दशैँ बजार असोज ६ गते घटस्थापनाकै दिनदेखि जनकपुरधामस्थित गोपाल धर्मशालामा सुरु हुनेछ।



