एसपी रिपोर्टर
वासिङ्टन डीसी,साउन १३ : इजरायल र हमासबिच जारी द्वन्द्वका कारण गाजाको अवस्था दिनप्रतिदिन डरलाग्दो हुँदै गइरहेको छ । यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा भोकमरीबारे इजरायलको दाबीप्रति कडा प्रतिक्रिया दिएका छन् ।
‘गाजामा भोकमरी भन्ने कुनै चीज छैन, सबैले खाना पाइरहेका छन्’ भन्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको दाबीलाई उनले पूर्ण रूपमा अस्वीकार गरेका छन् । ट्रम्पले नेतान्याहूभन्दा फरक अडान लिँदै गाजाको अवस्था वास्तविक भोकमरीको भएको र कसैले यसलाई झूट भन्न नसक्ने बताएका छन् । अमेरिकाले अब आफैँले गाजामा खाना पुर्याउने व्यवस्था गर्नेछ र खाँचोमा परेका मानिसहरूका लागि खाद्य केन्द्रहरू निर्माण गर्ने पनि उनले बताए । ट्रम्पले सोमबार बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको भेटमा यो बयान दिएका हुन् । अमेरिकासँथ धेरै खाद्यान्न भण्डार भएको भन्दै ट्रम्पले गाजामा भयानक भोकमरीको अवस्थालाई ध्यानमा राखेर आफूहरूले त्यहाँ खाना पुर्याउने बताएका थिए ।‘गाजाका मानिसहरूले खाना पाउनुपर्छ, तर धेरै ठाउँमा लाइनहरू छन् र तिनीहरूलाई रोकिएको छ । चाहे त्यो हमास होस् वा अरू कोही । हामीले यी अवरोधहरू हटाउनु पर्छ ।’ अझ अगाडि उनले भनेका थिए । यस क्रममा ट्रम्पले गाजामा बालबालिकाको अवस्थाप्रति चिन्ता समेत व्यक्त गरेका थिए ।
उनले भने कि केही बालबालिकाको अवस्था हेर्दा यो वास्तविक भोकमरी हो भन्ने कुरा स्पष्ट हुने अनि यसलाई झूट भन्न नसकिने उनको भनाइ थियो ।गाजा युद्धका कारण सिर्जना भएको भयानक अवस्थामा बालबालिकाको मृत्युको संख्या निरन्तर बढिरहेको छ । जुलाईमा अहिलेसम्म कुपोषणका कारण गाजामा ६३ जनाको मृत्यु भएको बताएको विश्व स्वास्थ्य सङ्गठनले बताएको थियो । यसरी मर्नेमा २४ ५ वर्ष मुनिका बालबालिका पनि छन् । गाजाको स्वास्थ्य मन्त्रालयले भने यो संख्या ८२ जना भनिरहेको छ ।





