एसपी रिपोर्टर
बुटवल, बैशाख १९ : लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकार गठनमा दाबी गरेका छन् । आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने उनको दाबी छ । पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले भने, ‘एमालेको एकल सरकार बनाउने गृहकार्यअनुसार मुख्यमन्त्रीले राजीनामा दिनु भएको हो ।’
दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा माओवादी केन्द्रसमेतको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध एमाले, कांग्रेस र जसपाले वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्तावमा छलफलका लागि बोलाइएको विशेष अधिवेशन आजबाट सुरु हुँदै छ । तर मुख्यमन्त्री पोखरेलको राजीनामा आएपछि सत्ता समीकरणको खेल फेरिएको छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा)का चार जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ । जसमा पोखरेलको पार्टी नेकपा एमालेका ४१ सांसद छन् । एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो । त्यसैले एमालेले एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ ।
ा