एसपी रिपोर्टर
बुटवल, बैशाख १९ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पुष्टि गरे ।
विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए ।
उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।