एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख १७ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका विषयमा जनता समाजवादी पार्टी (जसपा) संग कुरा भइरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापन गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने कांग्रेसको निर्णय छ । तर, जसपाले वर्तमान सरकारलाई साथ दिने कि नयाँ सरकार गठनको प्रयास गरिरहेको कांग्रेस, माओवादी केन्द्रलाई साथ दिने भन्ने औपचारिक निर्णय लिएको छैन ।
शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले जसपाले वर्तमान सरकार विस्थापनका विषयमा निर्णय नगरेको बताए । उनले नयाँ सरकार गठनका लागि आवश्यक संख्या पुग्न नसकेको पटक–पटक उल्लेख गरे । नयाँ सरकार गठनका सन्दर्भमा जसपालाई कुनै आग्रह छ ? भन्ने पत्रकारहरुको प्रश्नमा देउवाले भने, ‘मेरो कुरा भइरहेको छ ।’ कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीको विकल्प खोज्ने प्रयास जारी राखिएको पनि बताएका छन् ।
‘कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय भएकै छ । तर यहाँ संख्या पुग्नुपर्छ । संख्या नपुगी चाहेर मात्रै हुँदैन’, सभापति देउवा भने, ‘ओलीलाई हटाउन चाहन्छु तर सक्दिन मैले चाहेर मात्रै बहुमत पुग्दैन । प्रचण्ड र कांग्रेस मिल्दा पनि पुग्दैन । यो सत्य हो, माओवादीले समर्थन फिर्ता लिएको छैन । जसपाले अहिलेसम्म निर्णय गरेकै छैन ।’