एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख १५ : झापाका प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीलाई कोरोना संक्रमण पुष्टी भए पछि प्रधानमन्त्री केपी शर्मा ओली पनि कन्ट्याक्ट ट्रेसिङमा पर्नु भएको छ । बैशाख १४ गते संक्रमण पुष्टी हुनु भएका सांसद बुढाथोकीले बैशाख ८ गते प्रधानमन्त्री ओलीलाई बालुवाटारमा नै पुगेर भेट गर्नु भएको थियो ।
प्रधानमन्त्रीसंगको भेटमा सांसद बुढाथोकीसंगै रहनु भएका झापा क्षेत्र नं. ३ (क) का प्रदेश सांसद बसन्त बानियाँका अनुसार बालुवाटार पुग्दा सांसाद बुढाथोकीको अवस्था सामान्य नै थियो । ‘हामी बालुवाटारमा नै भेट भयौं, मैले भेट्दा गोपाल जीको स्वास्थ्य सामान्य नै थियो’ सांसद बानियाँले सेतोपत्रसंग कुरा गर्दै भन्नुभयो, ‘भेटमासंगै रहेकालाई संक्रमण देखा परेकाले प्रधानमन्त्री जोखिममा त पर्नु नै भयो ।’
सांसद बुढाथोकीले बैशाख ८ गते प्रधानमन्त्रीलाई भेट गर्दा एमाले संसदिय दलका उपनेता सुवास नेम्वाङ पनि संगै हुनुहुन्थो । बिहान ११ बजे प्रधानमन्त्रीलाई भेट गर्नु भएका संक्रमित सांसद बुढाथोकी सहित सांसद बानियाले सोही दिन बिहान ८ बजे महान्यायधिबक्ता अग्नी खरेललाई समेत भेट गर्नु भएको थियो । उक्त दिन सांसद बुढाथोकी र बानियाँले बिहानको खाना महान्यायधिबक्ता खरेलकै घरमा वहाँसंगै बसेर खानु भएको सांसद बानियाँले बताउनु भयो ।
झापा क्षेत्र १ (ख) का सांसद बुढाथोकी बैशाख १० गते काठमाण्डौबाट झापा आउनु भएको थियो । झापा आए लगत्तै वहाँलाई स्वास्थ्य समस्या देखा परेको थियो । झापा धुलाबारी निवासी सांसद बुढाथोकीको बैशाख १४ गते पिसिआर रिपोट पोजेटिभ आएको हो ।कन्ट्याक्ट ट्रेसिङमा परेको बिषयमा प्रधानमन्त्री कार्यालयले भने अहिलेसम्म कुनै औपचारिक जानकारी गराएको छैन ।