एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १३ : विवाह सहितको भोज भतेरमा मात्र २५ जना सहभागिताका लागि धनुषामा समेत कडाइ सुरु भएको छ । स्थानिय प्रशासनले जनकपुरधामका होटल तथा पार्टी प्यालेशहरुलाई २५ जना भन्दा बढीको सहभागितामा कुनै पनि कार्यक्रम न गर्न÷गराउन निर्देशन दिइसकेको छ ।
जनकपुरधामको जिरोमाइल स्थित होटल अन्नपुर्णका सञ्चालन निरज साह (मुन्ना) ले भने, ‘प्रशासनले हामीलाई निर्देशन दिइसकेको छ, बैशाखमा बुक रहेको अधिकांश विवाहहरु धमाधम क्यान्सल हुने क्रममा छ ।’ उनको अनुसार एउटा विवाहको लागि छ लाखमा बुक भएको आयोजनको अव २५ जनाको डेढ लाखमै गरिदिन्छु भन्दा पनि ग्राहकहरु मानेका छैनन ।
आज भोलीका लागि लाखौं लाखमा बुक भएका विवाहहरुको सवालमा भने अनुमती लिएर मात्र गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको निर्देशन छ । यो संगै होटल व्यवसाय पुनः प्रभावित हुने भएको छ । २५ जनाको विवाह त घरवाटै पनि हुन्छ भन्दै आयोजकहरु धमाधम बुकिङ्ग स्थगित गर्न थालेपछि होटल व्यवसायी चिन्तत बनेका छन् ।