एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ७ : आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले गाउँको समुदायिक विद्यालयहरुमा विद्यार्थीको तुलनामा शिक्षक दरबन्दी निकै कम रहने गरेकोमा शहरमा शिक्षक दरबन्दी बढी हुँदा पनि विद्यार्थी संख्या न्यून हुने गरेको बताएकी छन् । उनले यस्तोमा गुणस्तरीय शिक्षाको परिकल्पना पनि गर्न नसकिने समेत बताइन् ।
एनसिई नेपालद्वारा मंगलवार जनकपुरधाममा आयोजित प्रदेश २ को शैक्षिक अवस्था र अबको कार्यदिशा विषयक छलफल कार्यक्रममा राज्यमन्त्री यादवले प्रदेश २ को शिक्षाको अवस्था एकदमै कमजोर हुनुमा राज्यको निति दोषी रहेको बताइन् । यसको कतिपय कारण मध्ये राज्यको विभेदकारी नीति पहिलो कारण हो उनको भनाई थियो । प्रदेश सरकार गठन भएपनि शिक्षा सम्बन्धी विधेयक निर्माण गर्न सकिएको छैन, उनले भनिन, ‘जबसम्म संघले शिक्षा विधेयक ल्याउँदैन प्रदेश ल्याउन सक्दैन । त्यसैले संघको विभेदकारी नीतिको कारण प्रदेशले गुणस्तरीय शिक्षामा खेल्नुपर्ने भूमिका खेल्न नसकेको बताएकी छन् ।’

उनले भनिन, ‘यस प्रदेशमा गुणस्तरीय शिक्षा नहुनुको कारण शिक्षामा राजनीतिकरण हो । हरेक दलका शिक्षकहरु आफ्ना संगठन खोलेका छन् । यो शिक्षा क्षेत्रको लागि दुर्भाग्यपूर्ण अवस्था हो । त्यसैले प्रदेश शिक्षा कानून निर्माण आवश्यक छ ।’
त्यसैगरी प्रदेश साँसद परमेश्वर साहले देश व्यक्तिको विचारले नभई कानून र संविधानले चल्ने भएकाले जति भाषण गरेपनि कानून प्रावधान प्राप्त नहुन्जेलसम्म केही गर्न सकिने अवस्थामा नरहेको उनले जिकिर गरेका छन् । उनले भने ‘यस प्रदेशमा ४८.३० प्रतिशत युवाहरु शिक्षा र रोजगारबाट वन्चित छन् । स्थानीय सरकारले बजेटको ३५ प्रतिशत शिक्षामा बजेट छुट्याउँछन यस्तो अवस्थामा कसरी गुणस्तरी शिक्षाको परिकल्पना गर्न सकिन्छ ?।’
साँसद साहले स्थानीय सरकारले शिक्षामा बजेट छुटयाउन सक्छ तर प्रदेशको कुरा गर्ने हो भने शिक्षा ऐन निर्माण हुन नसक्दा केही गर्न सकिने अवस्थामा छैन धारणा राखेका छन् । विद्यालयका शिक्षक समयमा आउन सकेन, विद्यालयमा गुणस्तरीय शिक्षा भएन, भौतिक पूर्वाधार नभएपनि प्रदेश सरकारले केही गर्न सक्दैन । यसको एउटै कारण हो प्रदेश शिक्षा विधेयक निर्माण नहुनु । प्रदेश सरकार समन्वयकारी भूमिका बाहेक अरु केही गर्न सक्ने अवस्थामा नरहेको उनको भनाई छ ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्र, औरही गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादव लगायतका व्यक्तिले स्थानिय स्तरको शिक्षास्तर माथि प्रकाश पारेका थिए । त्यसैगरी राम गैरेले प्रदेश २ को शैक्षिक अवस्था बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।