एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३ : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले २०७८ भित्र सडक मानव मुक्त देश तथा २०८२ सम्ममा बालबिबाह मुक्त देश घोषणा गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरहेको बताएकी छन् । समाज कल्याण परिषद्को आयोजनामा जनकपुरधाममा आयोजित ‘सामाजिक रूपान्तरणमा सङ्घ संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री महतोले भने, ‘समाजमा पछाडि परेका वर्गको रूपान्तरण नभएसम्म देशलाई समृद्ध र सुखी बनाउन कठिन छ ।’
मन्त्री महतोले सामाजिक विकृतिको रुपमा रहेको बालविवाह, दाइजो, बोक्सीको अन्त्य गर्नका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारले काँधमा काँध मिलाएर एक साथ अगाडी बढ्न आवश्यक भएको बताईन् । समाज कल्याण परिषद्की अध्यक्ष समेत रहेकी मन्त्री महतोले २ सय ३१ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा १२ हजार ७ सय ४० गैर सरकारी सङ्घ संस्था समाज कल्याण परिषद्मा आबद्ध भए पनि १ सय २६ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र धेरै गैर सरकारी सङ्घ संस्थाहरू निष्क्रिय रहेको भन्दै सवैलाई सक्रिय हुन आग्रह गरेकी छन् ।
प्रदेश नंं २ का सामाजिक विकास मन्त्री नबल किशोर साहले सामाजिक चेतनाको वृद्धिमा गैरसरकारी सङ्घ संस्थाहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै देशको समृद्धिको यात्रामा सङ्घ संस्थाको महत्त्वपूर्ण योगदान रहेको बताए । जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नंं २ का अध्यक्ष सुरेश सिंहले सामाजिक रूपान्तरणमा गैर सरकारी सङ्घ संस्थाहरूको महत्त्वपूर्ण योगदान रहेको बताउँदै प्रदेश नंं २ मा थप योगदान दिन जरुरी रहेको बताए । उनले प्रदेश २ बालबालिका, महिला, आमा र शिशु सवैको स्वास्थ्यको दृष्टीकोणले पछाडि रहेको भन्दै सोहि अनुसारको काम गर्नुपर्ने बताए ।
कार्यक्रममा गैर सरकारी सङ्घ संस्थाका सञ्चालकहरू, प्रदेश सरकारका प्रतिनिधिहरू तथा विभिन्न पालिकाका प्रमुख एवं उपप्रमुखहरू उपस्थिती थियो । आर्थिक सहयोग शेभ द चिल्ड्रेनले गरेको कार्यक्रममा दुई दिनसम्म गैर सरकारी सङ्घ संस्थाहरूले देश निर्माणमा कसरी योगदान दिन सक्दछ भन्ने विषयमा छलफल हुने छ । कार्यक्रममा जनकपुरधाम उपहानगरपालिकाका प्रमुख, उपप्रमुख, सवैला, मिथिला, मिथिला विहारी सहितको स्थानिय तहका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको थियो ।