एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २ : जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरी रिहाईको सहितको मांगमा नगद सहमती गर्ने शक्तिसंग मात्र जसपा नेपाल सहकार्य गर्ने स्पष्ट पारेका छन् । हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले नयाँ वर्ष, जुर शितल तथा सिरुवा पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा नेपाल पत्रकार महासंघ र जनकपुरधाम उद्योग बाणिज्य संघको नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेको महतोले भने, ‘जसपा सत्ताको अभियानमा नभई आफना मांग पुरा गराउने अभियानमा छ र रहन्छ, त्यसमा क्लियर कट छ, जस्ले क्यासमा सहमती गर्छ उसैसंग जान्छौ ।’
धनुषा निर्वाचन क्षेत्र नं. ३ वाट प्रतिनिधीसभा सांसद समेत रहेका महतोले नयाँ सरकार बनाउन जसपाले हलो अटकाएको आरोप लगाउनु गलत रहेको बताए । उनले भने, ‘हामीले हलो अटकाएको हो भने सरकार बनाउन कस्ले रोकेको छ ? बनाउदा हुन्छ नि ? यसपालि कसैको कुर्सीको लागि जसपा उधारो सहमती गर्दैन ।’ कार्यक्रममा प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जसपाको मांग पुरा गर्ने शक्ति जो सुकै भएपनि मुख नहेरी अगाडि बढन मञ्चमा आसिन नेता महतो सहित पार्टीका शिर्षनेताहरुलाई आग्रह गरेका छन् ।

उनले भने, ‘हामीले मुख हेर्ने होइन मांग कस्ले पुरा गरयौं उसै संग मिलेर अगाडि बढने हो किनकी मधेश र मधेशीका लागि सवै उस्तै हो ।’ कार्यक्रमका बिच नेपाल पत्रकार महासंघको प्रदेश र जिल्ला कार्यसमिति तथा जनकपुरधाम उद्योग बाणिज्य संघको नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश सांसद परमेश्वर साह, जनकपुरधामका नगर प्रमुख लालकिशोर साह, प्रदेश २ का मुख्य न्याधिवक्ता दिपेन्द्र झा सहित जसपाका नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो ।