एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३१ : जनता समाजवादी पार्टी (जसपा) नेपालले आफनै नेतृत्वमा सरकार गठनलाई समेत बटमलाइन बनाउने संकेत गरेको छ । जनकपुरधाममा नयाँ वर्ष २०७८, हिन्दुहरुको चाड जुड शितल र सिरुवा पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा तत्कालिन राजपाका नेताहरुले यस्तो संकेत गरेका हुन ।
प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मंगलवार नयाँ वर्षको पुर्वसन्ध्यामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा तत्कालिन राजपाका शिर्षनेताहरु मात्र देखिए । कार्यक्रमका मुख्य केन्द्र बिन्दु जसपाका नेता महन्थ ठाकुरले नयाँ सरकार गठनको हलो जसपाले नभई कांग्रेसले नै अडकाएको आरोप लगाएका छन् ।
अध्यक्ष ठाकुरले जसपाले हलो अडकाएको हो भने कांग्रेस नेतृत्व गरेर अगाडि बढन कस्ले रोेकेको छ ? तर्क गरेका छन् । जसपाको मांगहरु सम्बोधन गर्ने शक्तिहरुसंग अव नगदमा मात्र सम्झौता हुने उनको दावी छ । वरिष्ठ नेता राजेन्द्र महतोले जसपाको मांग नगदमा सम्बोधन गर्ने शक्तिनै नजिक रहने र उनैसंग सम्झौता हुने बताए ।
अर्का नेताहरु सरत सिंह भण्डारी र अनिल झाले कांग्रेस, एमाले र माओवादीले देशलाई निकास दिन नसकेको बताउदै बैकल्पिक शक्तिको रुपमा रहेको जसपा नेपालकै नेतृत्वमा सरकार गठनको प्रयास गरिने बताए । नेताहरुले जसपाको पहिलो बटमलाईन मांग र मुद्दा रहेको र वातावरण बनेको खण्डमा सत्ता समिकरणमा जानुपर्ने अवस्था आए आफनै नेतृत्वमा सरकार गठनको प्रयास थालिने बताए ।
कार्यक्रमको आयोजक मन्त्री सोनलले कार्यक्रममा सवैलाई बोलाएको दावी गर्दै नआउनेलाई समेत धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा उपस्थित नेता कार्यक्रताहरु राजपाको मात्र नेताहरु देखिएको भन्दै कानेखुसी गरिरहेका थिए ।