एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ : मिथिलामा होलीको पुर्व सन्ध्यामा प्रत्येक वर्ष घोषणा हुने महामुर्खको उपाधि यस वर्ष चर्चित हास्य कलाकार ‘मह’ जोडीले पाएका छन्। आज जानकी मन्दिरको प्राङ्गणमा मैथिली भाषा, कला र मनोरञ्जनको क्षेत्रमा काम गर्ने मिथिला नाट्य कला परिषद (मिनाप)को आयोजना हुने भब्य महामुर्ख सम्मेलन समारोहका बिच मह जोडीलाई महामुर्खको उपाधि प्रदान गरिएको छ ।

‘हाम्रो बिचारमा मह जोडी भएपनि दुईजना होइन एकैजना हो’ मिनापका अध्यक्ष परमेश झाले भने, ‘मह जोडीलाई यो सम्मान दिन पाउँदा मिनाप र मलाई आफै औधी खुसी छ ।’ त्यसैगरि सोहि अवसरमा प्रदान गरिने विभिन्न मानपदवीमा यस वर्ष मुर्ख सिरोमनीको उपाधि प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ । त्यसैगरि चित्रकार एससी सुमनलाई तरघुस्का, मैथली विकाष कोषका अध्यक्ष जिवनाथ चौधरीलाई पटमुर्खको उपाधि दिइएको छ ।
जसपा नेता राजिव झालाई बंशकुरहिर, जनकपुरधामको वडा नं.४ का वडा अध्यक्ष सुदर्शन सिंहलाई बैशाखानन्द, सञ्चार उद्यमी शंकर साहलाई मुसरीलाल, वरिष्ठ पत्रकार एवं साहित्यकार अशोक दत्तलाई बोतलानन्द, वरिष्ठ पत्रकार तथा सञ्चार उद्यमी शितल साहलाई ढोरवा, महिला नेतृ बिन्दु ठाकुरलाई खापसुरती, प्रशिक्षक विरेन्द्र कर्णलाई बज्रकिट, डा. सुजित झालाई सिलौटानन्द, मोडल मल्टिपल कलेजका सञ्चालक विरेन्द्र साहलाई लोरहाशंकर, हरित अभियानी सुरेश शर्मालाई हरसंख, शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द र जसपा नेता शेषनारायण यादवलाई चोन्हमाको उपाधि दिइएको छ ।

महजोडीले आफुहरुको लागि अहिले सम्मकै उत्कृष्ट सम्मान रहेको भन्दै यो सम्मान घरमा प्राथमकिताका साथ लगाउने प्रतिवद्वता जाहेर गरेका छन् । छोटोमा शुभकामना र धन्यवाद दिएका दुवैजनाले मिनापको यो सम्मानले देशमा तराई मधेश र हिमाल पहाडको सम्बन्ध झनै जोडने काम गरेको बताए । मन्त्री सोनलले मह जोडीलाई सम्मान गरेर मिनापले सार्थक र देशको एकता मजबुत पार्ने काम गरेको बताए ।
समाज र देशको लागि विभिन्न क्षेत्रमा रहेर राम्रो काम गर्ने गरेका चर्चित व्यक्तित्वहरुलाई मिनापले होलीको अवसरमा प्रत्येक वर्ष महामुर्ख सम्मेलनको आयोजना गरि व्यङ्गयात्मक शैलीमा सम्मान गर्ने गरेको छ जस्मा महामुर्खको उपाधि सवै भन्दा उच्च सम्मान हुने गरेको छ । मिनापले प्रत्येक वर्ष दुई दिवसीय होरी महोत्सव अन्तर्गत पहिलो दिन होरैया गायन र दोस्रो दिन महामुर्ख सम्मेलनको आयोजना दशकौं देखि गर्दै आएको छ ।

एता मिनापकै आयोजनामा प्रत्येक वर्ष झै शनिवार जानकी मन्दिर प्राङ्गणमा आयोजित होरैया (होलीको लोकगित) जोगिरा गायन प्रतिस्पर्धामा धनुषाको वभनगामा युवा क्लवको टोली प्रथम पुरस्कार जित्न सफल भएको छ । मिथिलाञ्चलमा लोप हुँदै गईरहेको जोगिरा गीत (होरैया) लाई संरक्षण गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषद् (मिनाप) ले आयोजना गरेको दुई दिवसीय होली महोत्सव अन्तर्गत शनिवार पहिलो दिन जोगिरा गायन प्रतियोगितामा ३ जिल्लाका १० वटा टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा जमुनीवाँस, बसहिया, गेरुवाही, वभनगामा युवा क्लव, खर्ताल युवा होली समूह, लादोबेला, विश्वम्भरपुर, मंगलपुर लगायतको होरैया टिमहरुको सहभागिता रहेको थियो । त्यस्तै दोस्रो पुरस्कार जमुनीवास र तेस्रो पुरस्कार खर्ताल युवा होरी समूहले जितेको छ । जोगिरा गायन प्रतियोगितामा पहिलो हुने टोलीलाई ६ भरको चाँदीको शिल्ड, दोस्रो हुने टोलीलाई ५ भरको चाँदीको शिल्ड र तेस्रो हुने टोलीलाई ४ भरको चाँदीको शिल्ड प्रदान गरिएको आयोजक मिथिला नाट्य कला परिषद्का अध्यक्ष परमेश झाले जानकारी दिए ।