एसपी रिपोर्टर
जनकपुरधाम, चैत १२ : परिक्रमाका तिर्थालुहरु जनकपुरधाम आउन लागेकाले जनकपुरधामको एतिहाँसिक बाह्रबिघघा रंगभुमि मैदानको सरसफाई तथा सुधार गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख लालकिशोर साह तथा उपप्रमुख रिता झाको सक्रियता र उपस्थितीमा आज विहान बाह्रबिघघाको सरसफाई गर्नुका साथै परिक्रमावासीको सुविधा र बासका लागि सुधारकाका कामहरु गरिएको छ ।

फागुन पुर्णिमा, होली तथा मिथिला माध्यमिकी परिक्रमा लाई मध्यनजर गर्दै बाह्रबिघ्घा मैदान र गंगासागरको चारै तर्फको सडक सफाई गरिएको छ । वृहत सफाईको काममा जनकपुरधाम उपमहानगरपालिका सफाईकर्मी, कार्यालय सहयोगी, नगर प्रहरीहरु देखि लिएर विभिन्न शाखाका प्रमुखहरुको समेत संलग्नता रहेको थियो ।

उपमहानगरप्रमुख साहले भने, ‘ जनकपुरधाम आएपछि परिक्रमाका तिर्थालुहरुको वासस्थान तथा अन्तरगृह परिक्रमालाई मध्येनजर गर्दै उपमहानगरपालिका सवै तयारीमा जुटेको छ ।’ अव परिक्रमा मार्गहरुको वृहत सरसफाई गरिने उनले बताए । मिथिला माध्यमिकी परिक्रमाका तिर्थालुहरु शनिवार जनकपुरधाम आइपुग्ने र आइतवार विहान अन्तरगृह परिक्रमा गरिने छ ।
