एसपी रिपोर्टर
जनकपुरधाम, चैत ७ : महोतरीको धु्रवकुण्ड परिक्रमाको मेलाबाट दर्जनौं सुन र चाँदीको गर गहना सहित चोरहरुको समुह पक्राउ परेको छ । महोतरीको धमौरा मेला समितिको पहल र सहयोगमा स्थानिय प्रहरी प्रशासनले ५४ थान सुनको गर गहना र चाँदी १२ थान सहित १७ जना महिला चोरहरुलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुबाट सुनको मंगलसुत्र, सिकरी, चाँदीको पायल, बाला सहित भारु ३५ हजार र नेपाली १२ हजार नगद, आधा दर्जन मोबाइल सेट समेत बरामद गरिएको छ । पक्राउ पर्नेमा अधवैसे महिला देखि वालिकाहरु पनि रहेको धमौरा मेला समितिका युवा अगुवा रामेश्वर मण्डलले बताएका छन् । उनीहरुलाई बल्वा स्थित प्रहरी चौकीमा राखिएको र जिल्ला प्रहरी कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।
बल्वा थानाका सई रविन्द्र सिंह, शस्त्र बेस क्याम्पस बलौटाका प्रहरी निरिक्षक राजकुमार झा, बल्वा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजकुमार यादव र युवा नेता रामेश्वर मण्डल सहितको सक्रियता र पहलमा उनीहरुलाई पक्राउ गरिएको छ । शुक्रवार धु्रवकुण्डवाट पक्राउ परेका केहि चोरहरु संग सोध पुछ गर्ने क्रममा बल्वा वडा नं. १० मा उनीहरु गर गहना लुकाएर राखेको स्थल समेत पता लागेपछि सर समान सहित उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।