एसपी रिपोर्टर
जनकपुरधाम, चैत १ : बिबिसी मास्टर सेफको उपबिजेता सिरहाको सन्तोष साहको जनकपुरधाममा भब्य स्वागत गरिएको छ । करिव १७ दिन अगाडि नेपाल आएका उनी घर परिवार भेटन भन्दै आज जनकपुरधाम विमानस्थलमा आउने भएपछि उनका साथी जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र साहको अगुवाईमा जनकपुरधाममा स्वागत भएको छ । उनलाई ५१ किलोको फुलको माला लगाएर स्वागत गरिएको छ ।
जनकपुरधाम विमानस्थलमा उनकी आमा समेत पुगेकी थिइन् । प्लेटमा दियो र धुप बाली छोरालाई फुलमाला र टिका लगाउन तम्तयार करिव सय वर्षकी उनकी आमाको खुसीको कुनै सिमाना थिएन । सन्तोषले आमालाई पहिलो शब्द खाना खानुभयो ? भनेर सोधेका थिए । पत्रकारहरु संगको कुराकानीमा सन्तोषले आफु काठमाण्डौ आएर भान्से कुनै पनि जागिर भन्दा कम होइन भन्ने कुरा बुझाउन सक्रिय रहेको बताए ।
विमानस्थलमा स्वागत गर्न पुगेका युवाहरु सन्तोषले देशको नाम विश्वमै उज्जल पारेको र सिरहा देखि भारतको गुजरात हुदै लन्डन सम्मको १८ वर्षको यात्रामै देशको शान उच्च पारेको भन्दै न्यायो स्वागत सहितको केक समेत विमानस्थलमै काटेर खुसी बाडिएको छ । सन्तोषले केक काटेर आमालाई खुवाएका थिए र आफुले पनि खाएका थिए ।
उनले आफु पहिला लन्डनमै रेष्टुरेन्ट खोल्ने र पछि नेपालमा पनि खोल्ने सोच रहेको बताए भने साइत जुरे विवाह समेत गर्ने संकेत गरेका छन् । उनकी आमाले सन्तोषको विवाहका लागि सैयौं केटी पक्षको प्रस्ताव आइरहेको सुनाईन । छोराले बिबाह गरे आफुलाई खुसी लाग्ने उनले बताइन । जानकी मन्दिरमा दर्शन पछि साथी भाई लाई भेटेका सन्तोष आजै गृह जिल्ला सिरहा प्रस्थान गरेका छन् ।