एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २४ : महोतरीबाट बेपत्ता भएका दम्पतीको व्यापक खोजबिन तथा अनुसन्धानमा दबाब दिन ४० भन्दा बढि संघ संस्थाहरु एकजुट भएर दबाब मुलक कार्यक्रम गर्ने भएका छन् । सोमबार जनकपुरधाममा मैथिली ब्राहमण महासभाको आयोजनामा भएको वृहत अन्तरक्रिया कार्यक्रममा सहभागी करिव २९ वटा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले बेपत्ता दम्पतीको खोजबिनमा व्यापकताका लागि व्यापक आन्दोलन गर्ने निर्णय गरेको छ ।
महासभाका अध्यक्ष सिडिई भगवान झाको अध्यक्षतामा भएको कार्यक्रममा विगत १४ दिन देखि बेपत्ता पारिएको महोतरी पिपरा गाँउपालिका वडा नं. ५ सौर्हवाका वृद्व मुसाफिर झा र उनकी धर्मपत्नी गिता देवी झाको अवस्था अझै अज्ञात रहेकाले अनुसन्धानमा तिव्रता दिन व्यापक दबाब मुलक कार्यक्रहरु गर्ने सहमती जुटेको छ ।
अढाई दर्जन समाजिक संघ संस्थाका प्रतिनिधीले आश्चर्यजनक सो घटनामा प्रहरी असफल हुनु शंकाष्पद रहेको बताएका थिए । विगत १० दिन देखिको जिल्ला प्रशासन कार्यालय महोतरी घेराउको कार्यक्रमलाई थप प्रभावकारी बनाएर अगाडि बढने सहमती भएको छ । कार्यक्रममा जनकपुरधामकी उपप्रमुख रिता मिश्र, नागरिक अगुवाहरु विजय झुनझुनवाला, मुरली मनोहर मिश्र, इन्द्रकुमार मधेशानन्द, महासभाका महासचिव इन्द्रदेव मिश्र, पुर्व सिडिओ जिवछ मिश्र सहितकाले आ–आफनो धारणा राखेका थिए ।
कार्यक्रममा पुर्व राज्यमन्त्री अरबिन्द साह, हेल्प मधेशीका रामउदगार यादव, श्री महाविर युवा कमिटिका अध्यक्ष सन्तोष साह, श्री राम युवा कमिटिका पुर्व अध्यक्ष शम्भु साह प्रेमी, बिश्व हिन्दु महासंघ नेपाल प्रदेश २ की उपाध्यक्ष चाँदनी झा, राष्ट्रिय ईन्जिनियर संघका केन्द्रिय महासचिव दिपेन्द्र साह, दलित अगुवा राम उदित राम, महिला सञ्जालकी विभा पण्डित, जिल्ला समन्वय समितिका उपप्रमुख दिपक झा, नेपाल बार एशोसिएसन प्रदेश २ का श्याम कुमार मिश्र, जनकपुरधाम वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साह र वडा नं. ८ का अध्यक्ष रमेश ठाकुरको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमले ४० भन्दा बढी संघ संस्थाको संयुक्त आन्दोलन समिति गठन गरि आन्दोलनका कार्यक्रम प्रभावकारी बनाउने निर्णय गरेको छ । यस अघि महासभाको नेतृत्वमा प्रदेश २ प्रमुख, प्रदेश २ का मुख्यमन्त्री, आन्तिरक मामिला मन्त्री, मुख्य न्याधिवक्ता सहितकालाई दम्पतीको खोजि गरि दोषिलाई कडा कारवाही गर्न मांग सहितको ज्ञापन पत्र बुझाइ सकिएको महासभाका अध्यक्ष सिडिई भगवान झाले बताए ।