एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २४ : प्रदेश २ का प्रमुख डा. राजेश अहिराजले प्रदेश २ मानवताको प्रदेश स्थापित भइरहेकोमा खुसी व्यक्त गरेका छन् । एसपीखवरसंग कुराकानी गर्दै प्रदेश २ प्रमुख डा. अहिराजले भने, ‘सोमवार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सर्लाहीको रानिगन्जमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका चालकको उद्धार गरेको कार्य सराहनिय छ, प्रदेश २ सर्वाधिक मनावता भएको प्रदेशको रुपमा अगाडि बढिरहेकोमा मलाई औधी खुसी छ ।’
मुख्यमन्त्री राउत सोमबार बिहान पश्चिमबाट पूर्वतर्फ गइरहँदा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१७, रानिगञ्जस्थित कालिन्जोर पुल नजिकै ना ४८ प १२९९ नम्वरको मोटरसाइकल पल्टिँदा चालक सडकमै लडेको अवस्थामा उनको उद्दारमा खटिएका थिए । मुख्यमन्त्री राउतले सो दृश्य देख्नासाथ आफ्नो स्कर्टिङमा रहेको इलाका प्रहरी कार्यालय लालबन्दीको गाडीलाई तत्कालै रोकेर घाइते मोटरसाइकल चालकलाई प्रहरीकै गाडीमा अस्पतालतर्फ पठाएका थिए ।
दुर्घटनामा घाइते मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१७, रानिगन्जकै ३३ वर्षीय वीरध्वज मोक्तानको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ । यसअघि प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले आफ्नो यात्राका क्रममा रौतहटको जङ्गल र कर्णाली प्रदेशको भ्रमणमा जाँदा सुर्खेतमा सवारी दुर्घटनामा परेर घाइते भएकाहरुको उद्धार गरेका थिए ।
कलाकार राउतको निधन प्रति शोक व्यक्त
साथै प्रदेश २ प्रमुख डा. अहिराजले मिथिलाको एक अनुभवि तथा जुझारु मैथिली सीनेमाका चर्चित कलाकार बद्रि राउतको निधन प्रति गहिरो दुःख व्यक्त गरेको छ । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । एसपी खवरसंगको कुराकानीमा प्रदेश प्रमुख डा. अहिराजले भने, ‘मिथिला र मैथिली फिल्म, नाट्य र कला क्षेत्रले एउटा हस्ती गुमाएको छ, अभावका बिच पनि आफनो जिवन कलाकारितामा बिताएका समर्पित कलाकार स्व. राउत प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा धैर्य धारणको शक्ति प्रदान गर्नु हुन जगत जननी माता जानकी संग प्रार्थना गर्दछु ।’
विभिन्न मैथिली सीनेमा तथा बिएन पटेलद्वारा निर्देशित चर्चित टेली शृंखला ‘हुक्कालोली’ का मुख्य पात्र समेत रहेका स्व. राउत ‘बद्रि काका’ नामले परिचित थिए । राउतको ६३ वर्षको उमेरमा आईतबार बिहान निधन भएको परिवारजनले जनाएका छन् । शनिबार अचानक बल्डप्रेसरको समस्या भई जनकपुरधामस्थित काव्या हस्पिटलको आइसीयु कक्षमा भर्ना गरिएका राउतको आईतबार बिहान हृदयघात भई निधन भएको थियो ।
वयोवृद्ध अभिनेता राउत लगभग चारवटा मैथिली सिनेमामा पनि आफ्नो सफल अभिनय प्रस्तुत गरिसकेका छन् । त्यस्तै जनकपुरधामबाट प्रसारण भईरहेको टिभी टुडेको चर्चित टिभी सिरीयल हुक्कालोलीमा समेत उनी विगत चार वर्षदेखि निरन्तर अभिनय गरिरहेका थिए । राउतको श्रीमति, चार छोरी र एक छोरा छन् ।