एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २२ : प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले नेपालको छ वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई जनकपुरधाम आउन निमन्त्रणा गरेका छन् । प्रदेश प्रमुखहरुलाई भेटदै प्रमुख डा. अहिराजले जानकी मन्दिरको चाँदीको प्रतिमा उपहार स्वरुप प्रदान गर्दै प्रदेश प्रमुखलाई जनकपुरधाम आगमणका लागि निम्तो दिएको प्रदेश २ प्रमुखका सचिव ध्रुव गैडाले बताए ।
अहिले सम्म प्रदेश प्रमुख ज्युले तिनवटा प्रदेश प्रमुखहरु संग भेटघाट गर्नुभएको छ, सचिव गैडाले भने, ‘वाँकी तिनवटा प्रदेश प्रमुखलाई समेत भेटेर जनकपुरधाम बोलाउने योजना प्रदेश प्रमुख ज्यूको छ ।’ यस्को उद्देश्य के त ? भन्ने एसपी खवरको प्रश्नमा उनले प्रदेशको अभिभावक संस्थाको काम कर्तब्य, अधिकार र दायित्वको विषयमा गहन छलफल गरि जनकपुरधाम घोषणा पत्र जारी गर्ने उद्देश्यले सो तयारी गरिएको बताए ।
प्रदेश २ प्रमुख डा. अहिराज अहिले सम्म गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादव, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीलाई भेटेर जनकपुरधाम आगमणको निम्तो दिइसकेका छन् भने वाँकी तिनवटा प्रदेशहरुका प्रदेश प्रमुख भेटने तयारीमा छन् ।
विद्ययेक सदर र बदर गर्न मात्र प्रदेश प्रमुखको संस्था नरहेको र अभिभावक संस्था भएकाले सवल निगरानीकर्ताको रुपमा समेत संस्थालाई स्थापित गर्ने योजना प्रदेश २ प्रमुखको रहेको स्रोतको भनाई छ । कुनै पनि दल र संगठनमा नलागेका नागरिक समाज र अगुवाहरुको अभिभावकको रुपमा समेत यो संस्था अगाडि बढनु पर्ने तर्क प्रदेश प्रमुख कार्यालयको छ ।