एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २१ : प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले अरु भन्दा अझै पनि रेडियो नै सवै भन्दा सहज पहुँचको सञ्चार माध्यम रहेको बताएका छन् । जनकपुरधाममा आयोजित सामुदायिक रेडियोको समस्या र समाधान विषयक प्रदेश २ स्तरीय कार्यशालालाई सम्बोधन गर्दै प्रदेश २ का सञ्चार मन्त्री समेत रहेका यादवले भने, ‘प्रदेश २ मा अझै पनि पत्रिका र टेलिभिजन भन्दा रेडियो नै सर्वाधिक जनता सम्म पुग्ने सञ्चार हो ।’
मन्त्री यादवले प्रदेशको रेडियो सहितका सवै सञ्चार माध्यमको विकास र स्मृद्विका लागि प्रदेश सरकार प्रतिवद्व रहेको बताए । सञ्चार जगतलाई व्यवस्थित बनाउन प्रदेश २ सरकारले आमसञ्चार प्राधिकरण तथा मेडिया काउन्सिल समेतको गठन गरिसकेको बताउदै भने, ‘प्रदेश सरकारले आफै रेडियो र पत्रिका सञ्चालन गरि प्रदेशका दक्ष सञ्चारकर्मी तथा पत्रकारलाई जागिरको व्यवस्था गर्ने तयारीमा छ ।’
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघको पुर्व केन्द्रिय कोषाध्यक्ष शितल साह, वर्तमान केन्द्रिय सदस्य शैलेन्द्र झा, प्रदेश २ अध्यक्ष दिपेन्द्र चौहान तथा उपाध्यक्ष रिंकु मिश्र, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रिय उपाध्यक्ष निमेश कर्ण, सहित पत्रकारहरु मनिका झा, धर्वेन्द्र झा सहितकाले मधेश आन्दोलन सहित संघियता प्राप्तीको विभिन्न आन्दोलनमा प्रदेश २ का सञ्चार माध्यमले दिएको योगदानको वर्तमान प्रदेश सरकारले उचित कदर गर्न नसकिरहेको बताए ।
सामुदायिक रेडियो प्रशारक संघका प्रदेश २ अध्यक्ष अशोक कुमार दत्तको अध्यक्षतामा भएको कार्यशालामा राज्यमन्त्री सरोज सिंह कुशवाहा, प्रदेश २ आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका अध्यक्ष कृष्णहरी भट्टराई सहित प्रदेश २ का सामुदायिक रेडियोका सञ्चालक तथा प्रतिनिधीहरुको उपस्थिती थियो ।