एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २० : देशमा डाक्टर, ईन्जिनियर, बैज्ञानिक देखि शिक्षक र विद्यार्थी सम्मलाई तालिम दिइएको समान्यतया सुनिने गरिन्छ, तर जव विद्यालयमा काम गर्ने कार्यालय सहयोगीहरुलाई ल तपाँइहरु तालिमका लागि एक रात बस्ने गरि जनकपुरधामको सिताशरण होटल आउनु प¥यो भन्दा उनीहरु दङ्ग परे ।
महोतरीको मठिहानी नगरपालिकाको श्री जनता आधारभुत विद्यालयका फरक क्षमता भएका कार्यालय सहयोगी विशेश्वर साह भन्छन, ‘ म कार्यालय सहयोगीले पनि सुविधा सम्पन्न होटलमा तालिम पाँउछु भन्ने सोचेको थिएन ।’ सोहि नगरपालिकाको वसन्तपुर मा.वि.की कार्यालय सहयोगी दानादेवी महतोले भनिन, ‘जनकपुरधाम आउँदा जाँदा सडक र गाडीबाटै सधै हेर्ने गरेको सुविधाजनक यो होटलमा बास बस्न पाइन्छ भन्ने सोचेको थिएन हजुर ।’

विशेश्वर र दानादेवी जस्ता १९ जना कार्यालय सहयोगीहरुलाई ‘वाश इन स्कुल’ अर्थात बिद्यालयको खानेपानी तथा स्वच्छता र सरसफाई सम्बन्धमा दुई दिवसीय तालिम प्रदान गरिएको छ । युनिसेफको आर्थिक सहयोग र महोतरीको मठिहानी नगरपालिका तथा महोतरी गाँउपालिकाको समेत १० प्रतिशत आर्थिक सहयोगमा दुवै पालिकाको २० सामुदायिक विद्यालयका २० जना कार्यालय सहयोगीहरुलाई तालिम दिइएको छ ।
प्रदेश २ को ८० प्रतिशत विद्यालयहरुमा सरसफाईका खानेपानी तथा शौचालय सहितको भौतीक संरचना भएपनि २० प्रतिशत विद्यालयमा मात्र पुर्ण रुपमा प्रयोगमा रहेकाले महोतरीमा रतौली युवा क्लवको सहजीकरणमा बिद्यालयमा पहुँचयुक्त परिक्षण गरेर मर्मत सम्भार थालिएको कार्यक्रम प्रभावकारी बनाउन समेत कार्यालय सहयोगीहरुलाई खानेपानी तथा सरसफाईको साधन स्रोतमा कुनै खरावी आए तुरन्त कसरी बनाउने भन्ने प्राविधिक तालिम समेत दिइएको क्लवका कार्यक्रम लिडर रुपेश कुमार ठाकुरले बताए ।

क्लवका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीका अनुसार नेपाल सरकारको सचिव स्तरीय निर्णयबाट अनुमोदित विद्यालय खानेपानी तथा सरसफाई कार्यविधी अनुरुप स्टार एप्रोच (तारा पद्वती) अनुसार विद्यालयलाई बर्गिकरण गर्दै सो स्टार एप्रोच सम्म पुरयाउने लक्ष्यका साथ १० वटा सुचकमा कसरी काम गर्ने विषयमा काम भइरहेको बताए । युनिसेफका खानेपानी तथा सरसफाई अधिकृत बोधनारायण श्रेष्ठले होटल बसाईको क्रममा कार्यालय सहयोगीहरु आ–आफनो कोठामा कमोट शौचालय देखेपछि राती बस्न समेत नमानेको बताए ।
उनले भने, ‘पश्चिमी शौचालय देख्ने वितिकै उनीहरु नबस्ने भोली विहानै आइपुग्ने भने तर हामी त्यसलाई पनि सरसफाईकै एक पाटो भनेर उनीहरुलाई सो शौयालयको प्रयोग र महत्वको बारेमा पनि सिकायौं ।’ विद्यालयमा खानेपानीको मुहान, धारा, पाइप आदीमा खरावी आए तत्काल कसरी मर्मत सम्भार गर्ने सहितका खानेपानी र सरसफाई सम्बन्धी विद्यालयमा हुने सम्पुर्ण मर्मर सम्भारका लागि प्राविधिक तालिम दिइएको क्लवका कार्यकारी प्रमुख चौधरीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !