एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १२ : नेकपाको प्रचण्ड–माधव समुहले जनकपुरधाममा विजय जुलुश निकालेको छ । मंगलवार सर्वोच्च अदालतले प्रधानमन्त्री केपि शर्मा ओलीको संसद विघटनको कदमलाई बदर गरेपछि खुसीहालीमा नेकपाको सो समुहले जनकपुरधाममा आज विजय जुलुस निकालेको हो ।
नेकपाका केन्द्रिय नेता रामचन्द्र झा, श्रवण यादव बरबरिया, लाल गोइत र श्री प्रसाद साहको नेतृत्वमा निकालिएको विजय जुलुशमा उनीहरुले ‘यो जित कस्को जनताको’ ‘नागरिक समाज धन्यवाद’ सहितको नारावाजी गरेका थिए । कदमचौक, भानुचौक, शिवचौक र जनकचौक, रामचौक हुदै नगरको विभिन्न भागको परिक्रमा गरेको जुलुश जनकचौकमै आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेता झाले पुनः धनुषा प्रहरीका डिएसपी मकेन्द्र मिश्र र प्रहरी निरिक्षक अशोक झाको कारवाही मांग गरेका छन् । धनुषा प्रशासनले उनीहरुलाई कारवाही नगरे नागरिक कारवाही हुने सम्मको चेतावनी नेता झाको थियो । नेताले झाले प्रधानमन्त्री ओली अझै पनि राजिनामा नदिए अविश्वासको प्रस्ताव लगाई संसदबाट धकेलेर निकाल्ने बताए । नेता बरबरिया आक्रोस व्यक्त गर्दै भने, ‘गोली चलाउन सिक्ने हो भने म संग सिख, उरिरहेको चराको आँखामा गोली ठोक्न सक्छु ।’

आन्दोलनमा दमन भएको भन्दै बरबरियाले आन्दोलनको औचित्य बुझेर काम गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । नेता श्री प्रसाद साहले राष्ट्रपतिलाई समेत नैतिकताको आधारमा राजिनामा गर्न आग्रह गरेका छन् । गलत प्रधानमन्त्रीको रबर स्टाम्प भएर काम गरेकाले राष्ट्रपतिको नैतिकतामा समेत असर परेको उनको भनाई थियो । नेता लाल गोइतले विगत दुई महिनाको आन्दोलनमा धनुषाको अहम भुमिका र रोल रहेको बताए । जुलुशमा सो समुहका धनुषा अध्यक्ष सुधिर साह र सचिव दिपक यादवको सहितको उपस्थिती थियो ।