एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १० : प्रदेश २ को भौतिक पूर्वाधार तथा विकास योजना मन्त्री जितेन्द्र सोनलले दलितहरुको समस्या केवल सामाजिक समस्या नरहेको बताउदै आर्थिक तथा शैक्षिक समस्या समेत रहेको धारणा राखेका छन् ।
जनकपुरधाममा सोमवार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा भएको ‘दलित समुदायको संवैधानिक अधिकार कार्यान्वयनमा प्रदेशस्तरीय सरोकारवाला निकायहरुको भूमिका र भावी रणनीति विषयक सम्वाद’ कार्यक्रममा मन्त्री सोनलले सो बताएका हुन ।
मन्त्री सोनलले भने, कुनै पनि समुदायको संरक्षण सम्बद्र्धन र आर्थिक सम्पन्नताका लागि राजनीतिक संरक्षण आवश्यक छ । छुवाछुत जस्ता महारोग आर्थिक अवस्था कमजोर भएपछि मात्र देखा पर्छन ।’ राजनीतिक संरक्षण तब हुन्छ जब एउटा मजबुत पार्टी हुन्छ उनले भने, ‘आर्थिक रुपमा सम्पन्न कुनै पनि समुदायका व्यक्तिहरु सँग कसैले छुवाछुत मान्दैन, विभेद गर्दैन । आर्थिक अवस्थामा यी कुराहरु निर्भर हुन्छ ।’
उदाहरण दिदै मन्त्री सोनलले भने ‘कुनै फाइव स्टार होटलमा आर्थिक रुपले सम्पन्न दलित खाना खाइरहेको बेलामा छेउमा बसेका मान्छे छुवाछुत मान्छ ? उनीसँग त्यहाँ छुवाछुत लगायको विभेद हुन्छ ? त्यसैले शिक्षा र आर्थिक रुपमा सम्पन्न भएपछि सबै प्रकारको विभेद आफै हटछ ।’
गाउँघर जहाँ आर्थिक रुपमा कमजोर हुन्छ, त्यहाँ छुवाछुत र विभेद हुने गरेको उनको तर्क छ । त्यसैले शिक्षा र राजनीतिक संरक्षण हुनु आवश्यक रहेको मन्त्री सोनलले बताए । मनबहादुर विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश साँसद श्यामपरी राम, प्रमिला दास, पूर्व राष्टिूय सभा सदस्य रामअवतार पासमान लगायतका दलित अगुवाहरुले आफना विचार राखेका थिए ।
कार्यक्रममा जेवी विश्वकर्माले दलित समुदायको संवैधानिक र कानूनी अधिकार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।