एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ८ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कुनै पनि हालतमा निर्धारित मितिमै निर्वाचन हुने बताएका छन् । शनिबार जनकपुरधाममा धनुषा चेम्बर अफ कमर्शको दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारणसभाको समुदघाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्धारित आगामी वैशाख १७ र २७ गतेको निर्वाचन कुनै पनि हालतमा हुने दाबी गरेका हुन् :
उनले भने, ‘चुनावको तयारीमा जुट्न म सबै दल तथा जनतासँग अपिल गर्दछु ।’ चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने उनको धारणा थियो । जनताभन्दा ठूलो न्यायाधीश र अदालत अरु कुनै पनि नभएको उनको जिकिर छ ।
ताजा जनादेश र बहुमत प्राप्त सरकारको रक्षाका लागि चुनाव अँगालेको बताउदै उनले चुनावका लागि सवै तयार हुनुपर्ने बताए । निर्वाचनपछि मुलुकमा राजनीतिक स्थिरता कायम हुने भन्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘विकास र समृद्धिको सपना साकार हुनका लागि निर्वाचन आवश्यक छ ।’
कर्मशका अध्यक्ष विजय प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा कर्मशसका केन्द्रिय अध्यक्ष राजेश काजी श्रेष्ठ तथा प्रदेश २ अध्यक्ष पवन ठाकुर सहितको उपस्थिती थियो ।