एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रदेशप्रमुख परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए । बीचमा उनी मोहन वैद्यसँग गएका थिए । उनी केही समय नेत्रविक्रम चन्द ’विप्लव’ को समूहमा थिए । पछि उनी फेरि माओवादीमा फर्किएका थिए ।
मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको छ ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहटका राजेश झालाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।