एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २ : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले ग्रामिण महिलाहरुको कागजी काममा बिना शुल्क सहयोग गर्नु पर्ने बताएकी छन् । महिलाहरूको शिप तथा कलालाई प्रवद्र्वन गर्ने उद्देश्यले आइतबार देखि जनकपुरधाममा सुरु भएको तिन दिवसीय प्रदेश स्तरीय महिला हस्तकला मेला तथा प्रदर्शनीको समुदघाटन गर्दै मन्त्री महतोले भनिन, ‘गाँउकी महिलालाई कागजमा लेख्न पठन नआएपनि काम गर्न आँउने भएकाले उनीहरुको कागजीको काममा सहयोग गरिदिनु पर्छ ।’

मन्त्री महतोले जुन घरमा महिला शिक्षित, अनुशासित र सक्षम हुन्छ त्यो घरमा प्रगती नै प्रगती हुने गरेको दवी गरि गरेकी छन् । उनले भनिन, ‘त्यो घरमा खुशी र शान्ती पनि देखिन्छ ।’ मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम तथा नेपाल हस्तकला महासंघको आयोजनामा तथा प्रदेश २ सरकारको समाजिक विकास मन्त्रालय तथा जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा आयोजना भएको तिन दिवसीय मेलामा दर्जनौं स्टलहरु राखिएको छ ।

महिलाहरुद्वारा स्थानिय स्रोत साधन प्रयोग गरि बनाइएको उत्पादनहरु स्टलहरुमा राखिएको छ । मास्क देखि अगरवत्ती, कपडा, मिठाई, सजावटका सरसमान देखि मधेशमा प्रयोगहुने डलिया, सुप्पा सहितको सर समान मेलाको स्टलमा देखिन्छ । मेलामा काठमाण्डौंका महिला हस्तकलाका समानहरु पनि राखिएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री महतोले परिवार, समाज तथा कुनै देश लाई समृद्ध बनाउनका लागि महिलाहरू समृद्ध तथा खुशी हुनु आवश्यक रहेको बताइन् । यस प्रदर्शनीले महिला उद्यमीहरूलाई सक्षम बनाउन केही हदसम्म सहयोग पु¥याउने मन्त्री महतोले विश्वास समेत व्यक्त गरिन् ।

मन्त्री महतोले देशको सातवटै मध्ये प्रदेश २ मा पहिलो पटक मेला तथा प्रदर्शनी गरिएको बताईन । घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले यो प्रदर्शनीको आयोजना गरिएको नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिएका छन् ।

मेलाको समुदघाटन सत्रमा जनकपुरधाम उपमहानगरपालिका मेयर लाल किशोर साह, उद्योग वाणिज्य सङ्घका प्रदेश अध्यक्ष शिव शंकर साह हिरा, जनकपुरधाम उधारो वाणिज्य सङ्घ का अध्यक्ष ललित साह, सङ्घ सरकारका सचिव, सहसचिव सहितले आफ्ना विचार राखेका थिए । मेलामा स्टल र प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएका आयोजकले जानकारी दिए ।